• ११ मंसिर २०८१, मङ्गलबार

'अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक छ'

blog

किगाली, मङ्सिर २९ गते । विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । यहाँ सुरु भएको एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा अफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो–अफ्रिकाका देशहरुमा स्वास्थ्य क्षेत्रका पूर्वाधारका साथै अन्य आवश्यकताका विषयहरुको पूर्ति गर्न नसकिएकाले यहाँ यस क्षेत्रमा थप लगानीको आवश्यकता छ । रुवाण्डाको राजधानी किगालीमा आयोजना भएको जनस्वास्थ्यको अवस्था र यसको आवश्यकतासम्बन्धी एक अन्तर्राष्ट्रिय  सम्मेलनको उद्घाटनका क्रममा सो कुरामा जोड दिइएको हो ।

केही वर्षअघि इबोलाका साथै पछिल्ला दिनहरुमा कोभिड १९ को प्रकोपका कारण यहाँ स्वास्थ्यका क्षेत्रमा थप लगानी गर्न आवश्यक भएको क्षेत्रीय निर्देशक मोइतीले बताउनुभयो ।

डिसेम्बर १३ देखि सुरु भएको सम्मेलनमा विशेषगरी अफ्रिकामा पछिल्लो समयमा जारी रहेको स्वास्थ्यको अवस्थाका बारेमा आवश्यक छलफल गरी आगामी दिनमा यसको निकासका लागि के गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले छलफल गर्नुहुने पनि बताइएको छ ।

अफ्रिकी देशहरुको स्वास्थ्य क्षेत्रको लगानी कम रहेको तथा त्यहाँ स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरुको पनि कमी रहेकाले यसमा लगानी आवश्यक भएको हो । रासस/सिन्ह्वा