• ७ वैशाख २०८२, आइतबार

बुटवलको सनराइज सहकारी बन्द, अध्यक्ष र कोषाध्यक्ष फरार

blog

बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ७ गते । बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारी फरार भएका छन् । सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएपछि सहकारी चैत ३१ गतेदेखि  बन्द छ ।

सहकारीले चैत ३१ गतेसम्म बजारबाट रकम उठाएको पाइएको छ । सो सहकारी ०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएको हो । सहकारीमा सूचना टाँस गर्दै बन्द भएको लेखिएको छ । बुटवल उपमहानगर वडा न–११ देवीनगरमा सञ्चालित सहकारीले बचतकर्ताको रकम कुम्लाएर कार्यालय बन्द गरेपछि अहिले बचतकर्ताहरू बिचल्लीमा परेका हुन् ।

सहकारी दर्ता भएपछि ०७९ सालमा साधारण सभा गरेको पाइएको छ भने त्यसयता सम्बन्धित निकायमा सम्पर्कमा नआएर बजारबाट चार वर्षदेखि निरन्तर पैसा उठाउँदै आएकाले सो सहरकारीले नागरिकबाट कति रकम उठाएर ठगी गर्याे भन्ने यकिन छैन । 

कार्यालयको भित्तामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सृजना भएको भन्दै गत चैत ३१ गतेको मितिमा सूचना टाँसिएको   । 

सूचनामा बचतकर्तालाई अध्यक्षको खाजी गर्न आवश्यक पहल गर्न समेत अपिल गरिएको छ । बुटवल उपमहानगरपालिका वडा न ७ दीप नगरकी स्मृति पाण्डे पौडेलले छोराछोरीको स्कुलको नास्तालाई कटौती गरी दैनिक जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा निकै पीडा भएको दुखेसो पोख्नुभयो ।

स्मृति जस्तै बुटवल उपमहानगर वडा न–११ देवी नगरकी तारा विश्वकर्माले पेटभरी खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन आउँदा कार्यालय नै बन्द गरिएको र पैसा उठाउने बहिनीहरूले समेत फोन उठाउन छाडेको उहाँको गुनासो छ ।

सहकारीले सूचना जारी गरी फरार भएको सम्बन्धमा लुम्बिनी प्रदेश सरकारका सहकारी रजिस्ट्रार मधुकृष्ण पौडेलले प्रदेश स्थापना भएपछि प्रदेशमा दर्ता भएका सहकारीहरूले ठगी गर्दै आएको बताउँदै नियत नै गलत राखेर सहकारी संस्था प्रदेशमा दर्ता हुने गरेको बताउनुहुन्छ ।

लुम्बिनी प्रदेशमा १ सय ३० वटा सहकारी प्रदेशमा दर्ता भएको र प्रदेशका १२ वटा जिल्लामा गरी प्रदेश सरकार अन्तर्गत सहकारी रजिस्ट्रारको कार्यालयले नियमन गर्ने ८ सय ४८ सहकारी रहेको तर कर्मचारी न्यून भएकाले अनुगमन र नियमन कार्य प्रभावकारी हुन नसकेको रजिस्ट्रार पौडेलको भनाइ छ ।

सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरूलाई सहकारीको बारेमा केही जानकारी नभएको केवल नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएको बाहेक अन्य कुरा थाहा नभएको बताउनुभयो ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले जिल्ला भन्दा बाहिर दर्ता भएर आएका बहुउद्देश्यीय सहकारीमा रकम जम्मा नगर्न अपिल गर्दै प्रदेशमा २३ वटा सहकारीमा समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी रहेकोमा सनराइज बहुउद्देश्यीय पनि थपिन पुगेको बताउँदै दर्ता गर्ने कार्यालयले अनुगमनमा कडाइ नगरेको बताउनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रुपन्देहीका अध्यक्ष तथा प्रदेश बचत सङ्घका महासचिव वसन्त प्रसाद ढकालले बहुउद्देश्यीय सहरकारीको दर्ता प्रक्रिया स्थानीय तहमा दिन नहुने उल्लेख गर्दै बहुउद्देश्यीय सहरकारीको ठगी गर्ने नियतबाहेक अरू नभएको बताउनुभयो ।

केही बचत ऋण सहकारीले पनि बदमासी गर्दै गएकाले सम्बन्धित निकायले दर्ता लिँदा लिने तर समस्या आएपछि पन्छिने प्रवृत्ति गलत भएको बताउँदै जिम्मेवार भएर नागरिकको पैसामा खेलबाड गर्न नहुने बताउनुभयो ।

लुम्बिनी प्रदेशमा उजुरी परेर कारबाही प्रक्रियामा रहेका आयाम बहुउद्देश्यीय, सुनौलो, मञ्जुश्री बहुउद्देश्यीय, सप्तदीप, स्टार, सार्थक बहुउद्देश्यीय, मार्ग दर्शन, साइन, विश्व विराट, उपकार, उपदेश, शिव शिखर र सनराइज र बचत ऋण सहकारीमा सुप्रिम र आगन्तुक रहेका छन् ।