• ८ वैशाख २०८२, सोमबार

जितगढी किल्लामा विजयोत्सव सम्पन्न

blog

विजयोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

बुटवल समाचारदाता

बुटवल, वैशाख ८ गते । बुटवलको जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गरेको स्मरणमा आइतबार त्यहाँ विजयोत्सव मनाइएको छ । 

कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदीछेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले विसं १८७१ देखि सुरु भएको पटक पटकको आक्रमण सामना गर्दै १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो । उक्त विजयको खुसियालीमा बुटवलको जितगढीमा हरेक वर्ष वैशाख ७ गते बुटवल उपमहानगरपालिकाको आयोजनामा विजयोत्सव मनाउने गरिएको छ । 

त्यस अवसरमा बोल्नु हुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । सङ्घीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचीकृत गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामकरण गर्नका लागि पनि सङ्घीय सरकारसँग पहल गरिने प्रतिबद्धता जनाउनुभयो । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउनुभयो । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले जितगढी किल्लाको थप उत्खनन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्ला संरक्षणसँगै कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो ।  

उत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवर्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोटगढी, सिम्रौनगढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेजविरुद्ध युद्ध भएका थिए ।