बबई समाचारदाता
बबई (बर्दिया), वैशाख ८ गते । बर्दिया राष्ट्रिय निकुञ्जले मानव आक्रमण गर्ने वा समस्याग्रस्त भएका पाटेबाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर पालनपोषण गर्दै आइरहेको छ । अहिले पनि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पाँच वटा समस्याग्रस्त पाटेबाघलाई खोरमा राखेर पालनपोषण गर्दै आएको छ । त्यसरी पालनपोषण गर्दै आइरहेको बाघलाई उसको आहारामा समेत कमी आएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा दुई र रम्भापुर सेक्टर वन्यजन्तु उद्धार केन्द्रमा तीन वटा गरी पाँच वटा पाटेबाघलाई खोरमा राखेर निकुञ्जले पालनपोषण गर्दै आएको छ भने निकुञ्ज अन्तर्गत राखिएका बाघको आहारामा भने कमी भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बर्दियाको गेरुवा गाउँपालिका, चितवन, कञ्चनपुर र सुर्खेतको हर्रेबाट मानव आक्रमण गर्ने पाँच वटा बाघलाई नियन्त्रण्मा लिएर पालनपोषण गर्दै आएको छ ।
३०/३५ केजीसम्म दैनिक आहारा चाहिने बाघलाई बर्दिया निकुञ्ज प्रशासनले दुई दिनमा एक पटक सात केजी मासु खुवाउने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले उसको आहारा अनुसार मासु दिएमा बाघमा शक्ति बढ्दै जाने भएकाले नियन्त्रणका लागि कम मासु दिँदै आएको छ ।
यद्यपि त्यो आहारामा कमी आएको उहाँले बताउनुभयो । निकुञ्जका अनुसार निकुञ्ज र रम्भारपुर चेकपोस्टमा थुनेर राखिएका पाँच वटा बाघलाई महिनाभरिमा ५०५ केजी मासु दिने गरे पनि आहाराको अभाव भएको छ । बाघलाई थुनेर पाल्दा निकै खर्चिलो भएका कारणले पनि उनीहरूको आहारा कटौती गरिएको छ ।