रामकृष्ण बोहोरा
बागलुङ, वैशाख ८ गते । चालु आर्थिक वर्षको असारदेखि फागुन मसान्तसम्म ढोरपाटन सिकार क्षेत्रमा झन्डै १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् ।
चालु वर्षको फागुन मसान्तसम्ममा १० हजार सात सय पर्यटकले ढोरपाटन भ्रमण गरिसकेका छन् । तीमध्ये १२० जना विदेशी पर्यटक रहेको ढोरपाटन सिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो । यो अनुपातले चालु वर्षमा १८ हजारभन्दा बढी पर्यटक ढोरपाटन पुग्ने अनुमान छ । गत आवमा १५ हजार ७७० जना आन्तरिक र १०६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए ।
आरक्षले नेपालीलाई प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रलाई एक हजार पाँच सय र विदेशीलाई तीन हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । पछिल्लो समय आरक्षले विदेशीसंगै आन्तरिक पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।
ढोरपाटनमा पर्याप्त खानेपानी नहुनु र पर्यटकका लागि आरामदायी होटेलको अभाव हुँदा ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्न नसकेको स्थानीय बताउँछन् । स्थानीय धीरेन्द्र घर्तीले भन्नुभयो, “सुविधासम्पन्न होटेल बनाउन आरक्षको अनुमति पाइँदैन । पर्यटक बढाउन ढोरपाटन उपत्यकालाई सिकार आरक्षबाट अलग गर्नु पर्छ ।” ढोरपाटन उपत्यकास्तरीय र पर्याप्त होटेलको व्यवस्था नहुँदा अधिकांश पर्यटक बुर्तिवाङ बजारमा बास बस्न जाने गरेका छन् ।
ढोरपाटनमा पर्यटकको बसाइँ लम्ब्याउन सके स्थानीयवासीको आम्दानी बढ्ने र जीविकोपार्जनमा सहज हुने उहाँको भनाइ छ । ढोरपाटनमा छ सयभन्दा बढी घरधुरी छन् । ढोरपाटन उपत्यकामा पुग्न सहज सडक नहुँदा पनि पर्यटकले सास्ती खेप्नु परेको छ । बुर्तिवाङ–ढोरपाटन जोड्ने ३६ किमी सडक जीर्ण छ भने सालझन्डी–ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म सम्पन्न नहुँदा पर्यटकले यात्रामा सास्ती खेप्नु पर्छ ।
बुर्तिवाङ–ढोरपाटन सडक तत्काल कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । सहज सडक भए ढोरपाटन आउने पर्यटकको सङ्ख्या दोब्बरले वृद्वि हुने ढोरपाटन वडा नम्बर ९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । पर्यटनमार्फत आर्थिक समृद्विको लक्ष्य हासिल गर्न सकिने प्रशस्त सम्भावना रहे पनि सडक पूर्वाधारले साथ नदिँदा ढोरपाटन विकासमा सधैँ पछि परेको घर्तीले गुनासो गर्नुभयो ।
ढोरपाटन उपत्यकालाई रुकुमको तकसेरा र मध्यपहाडी लोकमार्गको पातीहाल्नेसम्म जोड्नका लागि आरक्षले साथ नदिएको स्थानीयले गुनासो गरेका छन् । गाडीखोला चामेद्वार ढोरपाटन सडक आरक्षनजिकै ट्र्याक खोल्न नपाएपछि अलपत्र परेको छ ।