चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ८ गते । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको ७० वर्ष पुगेको अवसरमा आयोजित तीनदिने कञ्चनजङ्घा हीरक महोत्सव सकिएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सव आइतबार सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भएको हो । हीरक महोत्सवको उद्घाटन भने सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो ।
पर्यटन विकास तथा प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले महोत्सव आयोजना गरेको हो ।
‘कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार ः संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार’ नाराका साथ आयोजित महोत्सवको मुख्य उद्देश्य कञ्चनजङ्घामा पर्यटकको सङ्ख्या बढाउनु रहेको परिषद्का सदस्यसचिव मनकुमार राईको भनाइ छ । राईका अनुसार महोत्सवले कञ्चनजङ्घाको प्रचारप्रसारमा थप टेवा पुग्ने र बाह्य तथा आन्तरिक पर्यटकको आगमन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
महोत्सवमा अन्तरवडास्तरीय भलिबल प्रतियोगितालगायतका गतिविधि आयोजना गरिएको छ । महोत्सव आकर्षित बनाउन तिनै दिन राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका छन् । महोत्सवमा विदेशी पाहुनासहित स्थानीयले उल्लेख्य सहभागिता जनाएका परिषद्का कर्मचारी मनकुमार लिम्बूले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि ८,५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैन्ड र जो ब्राउनले पहिलो पटक आरोहण गर्नुभएको थियो । उहाँहरूले कञ्चनजङ्घा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बोले बताउनुभयो । यसअघि २०७३ सालमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा फुङ्लिङ, सुकेटारमा हीरक महोत्सव आयोजना गरिएको थियो ।