यदुप्रसाद भट्ट
मनाङ, वैशाख ८ गते । ट्र्याक खुलेको २२ वर्षपछि मनाङ सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सेवा सुरु भएको छ । नेपाली सेनाको सक्रियतामा बेँसी सहर–चामे ट्र्याक खोल्ने कार्य सुरुआत गरेको थियो ।
द्वन्द्वकलामा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको मनाङको एक मात्र सडकमा बस सेवा सञ्चालन गर्ने लक्ष्य पूरा भएको प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले बताउनुभयो । आइतबार लमजुङ र मनाङको सीमा स्यागेबाट विधिवत्रुपमा सञ्चालनमा ल्याइएको बस सहजै मनाङ पुगेको थियो ।
स्थानीय प्रशासनले डुम्रे–बेँसी शहर–चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपछि बस सञ्चालनमा ल्याइएको हो ।’ बेँसी सहर–चामेसम्मको भाडादर ७ सय ४० रुपियाँ कायम गरिएको छ । चर्को भाडाको मारमा परेका स्थानीयका साथै पर्यटकलाई आर्थिक भारसमेत कम हुने भएको छ ।
एकलौटी रूपमा चर्को भाडा असुलेका बलेरो तथा पिकअप जिप आदिको एकाधिकार समाप्त हुने तथा स्थानीयले सहज रुपमा सेवा लिन पाइने आसमा दङ्ग परेका छन् । तर वर्षाको समयमा भने सडकको अवस्थामा सुधार नआए सार्वजनिक यातायात सञ्चालनमा कठिन हुने भएको छ ।