• ७ वैशाख २०८२, आइतबार

दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरु

blog

भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी बालभिटा प्रदान गर्दै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ७ गते । तनहुँमा बालबालिकामा देखिने कुपोषण न्युनीकरणका लागि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरु गरिएको छ । बालबालिकाको पोषणमा ध्यान दिन पहिलो पटक जिल्लाभरि बालभिटा खुवाउन थालिएको हो ।

दस वटै स्थानीय तहमा बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु शूक्ष्म पोषकतत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्छ । 

बालभिटामा आइरनलगायत खनिजतत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन् । प्रादेश स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार बालबालिकालाई आवश्यक पर्ने १५ विभिन्न भिटामिन ए र आइरन लगायतका खनिज तत्वहरू उपलब्ध हुने हुने र जसले गर्दा शारीरिक वृद्धि, मानसिक र सामाजिक विकास हुन्छ । 

बालभिटा खुवाएको बालबालिकालाई नखुवाएको बालबालिकाको तुलनामा कम रोग लाग्दछ । अधिकारीले भन्नुभयो, "बालभिटा खुवाउँदा बच्चाको दिमागको विकास, शरीरको वृद्धि विकास, रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सुक्ष्म पोषकतत्वको कमीले हुने विकृति कुपोषणबाट जोगाउँछ ।"

सात हजार सात सय ९९ बालबालिकालाई खुवाउने लक्ष्य निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार भानु नगरपालिकामा एक हजार २९, व्यास नगरपालिकामा दुई हजार दुई, म्याग्दे गाउँपालिकामा पाँच सय ८५, शुक्लागण्डकी नगरपालिकामा एक हजार सय १७, भीमाद नगरपालिकामा सात सय एक, घिरिङ गाउँपालिकामा तीन सय २२, ऋषिङ गाउँपालिकामा तीन सय ९६, देवघाट गाउँपालिकामा तीन सय ४८, बन्दीपुर गाउँपालिकामा चार सय ४३ र आँबुखैरेनी गाउँपालिकामा पाँच सय ५६ बालबालिकालाई बालभिटा खुवाइने छ । 

“बालबालिकालाई छ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने छन् । बालभिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बालभिटा खानामा मिसाएर खुवाइन्छ । बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ । बालभिटा घरमा तयार पारिएका खानेकुरा जाउलो, लिटो, मिचिएको दाल, भातमा सजिलैसँग मिसाएर खुवाउन सकिन्छ ।