राजकुमार भट्टराई
खोटाङ, वैशाख ८ गते । खोटाङको रावा बेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । रावाबेसी गाउँपालिका–१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँको बारीमा मृत भेटिएका हुन् ।
बारीको उनी मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । गोरेटो बाटोबाट करिब ८÷९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि रहेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष राईले बताउनुभयो । दाइको घरबाट आइतबार राती करिब साढे ८ बजे चिया खाएर हिँडेकोसम्म जानकारी पाइएको उहाँको भनाइ छ । उनी सोमबार बिहान मृत भेटिएका हुन् ।
कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट लडेर मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । थप कुरा घटनाको अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङबाट घटना स्थलमा पुग्नुभएका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयो ।