नीराजन परियार
कैलाली, वैशाख ८ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा ९० लाखमा खर्च गरेर बनेको हर्बल पार्कको काम अलपत्र परेको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ स्थित कालिका सामुदायिक वनभित्र निर्माण सुरु गरिएको हर्बल पार्क बोरिङ र एउटा शौचालय मात्र बनाएर बाँकी काम अलपत्र अवस्थामा छोडेको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सो क्षेत्रमा हर्बल पार्क बनाउन ५० लाख बजेट विनियोजन गरेको थियो । मन्त्रालयले हर्बल पार्क बनाउन बजेट विनियोजन गरेपछि नवीन धामीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो ।
हर्बल पार्कलाई अघि बढाउन आर्थिक वर्ष २०७८-७९ मा पुनः सुदूरपश्चिम प्रदेश सरकाले ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ४० लाख बजेट हर्बल पार्कको नाममा खर्च गर्न अर्को उपभोक्ता समिति गठन गरिएको थियो ।
खेम सापकोटाको अध्यक्षतामा बनेको समितिले सामान्य पर्खाल बनाएर ४० लाख रुपियाँ खर्च गरेको पाइएको छ । तर सो कामप्रति अध्यक्ष सापकोटा नै असन्तुष्ट छन्। कुल १० करोड लगानी अनुमान गरिएको उक्त पार्कको काम बजेट नहुँदा अलपत्र परेको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । उहाँले ४० लाखको काम आफ्नो कार्यकालमा सम्पन्न गरेको दाबी गर्नुभयो ।
सो समितिले २८ लाख रुपियाँ खर्चेर एउटा सानो बोरिङ र एउटा शौचालय मात्र बनाएर बाँकी काम अलपत्र अवस्थामा छोडेको हो । अहिले उक्त कार्यको चौतर्फी विरोध भइरहेको छ । स्थानीय मदन भट्टले पार्कको नाममा गुणस्तहिन काम गरेर उपभोक्ता समितिले बदमासी गरेको बताउनुभयो । आएको बजेट पनि मिलेमतोमा पचाउने गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। दलीय भागबन्डा गरेर बजेट कुम्ल्याउने स्थानीय योगेश आचार्यले आरोप समेत लगाउनुभयो ।
उक्त कार्यअघि बढाउन सुरुमा नवीन धामीको अध्यक्षता निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । सो समितिले २८ लाख रुपियाँ खर्चेर शौचालय र बोरिङ जडान गरेर बाँकी काम अघि बढाउन सकेको थिएन। त्यसपछि आर्थिक वर्ष २०७८÷७९ मा सुदूरपश्चिम प्रदेश सरकारले थप ४० लाख बजेट विनियोजन गरेको थियो । तर बजेट खर्च भए पनि निर्माण कार्य भने अलपत्र परेको छ । उक्त बजेटमा सामान्य एकतर्फी पर्खाल लगाएर बाँकी काम अलपत्र छोडिएको हो । उपभोक्ता समितिमार्फत गरिएको उक्त कामको पनि चौतर्फी रूपमा विरोध भइरहेको छ ।
४० दिनमा ४० लाख रुपियाँ खर्चेर निर्माण गरिएको पर्खाल जीर्ण बनेको छ भने तार जाली तोडफोड गरिएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन कार्यान्वयन एकाइबाट बजेट निकासा भएको हर्बल पार्क निर्माणमा ठुलो रकम घोटाला भएको स्थानीयको गुनासो छ ।
करिब १६ बिघा क्षेत्रमा निर्माण हुने भनिएको हर्बल पार्क निर्माणको नाममा अहिलेसम्म करिब ९० लाख रुपियाँ खर्च भइसकेको छ । तर यसपालि भने हर्बल निर्माण कार्य अघि बढाउन बजेट विनियोजन नभएको सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन कार्यान्वयन एकाइका सब–इन्जिनियर नरेन्द्रबहादुर खडायतले बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन कार्यान्वयन एकाइबाट हर्बल पार्क बनाउन छुटाइएको ४० लाखमध्ये ३५ लाख ९९ हजार रुपियाँ खर्च भएको बताउनुभयो । हर्बल पार्क बनाउन करिब १० करोड लगानी अनुमान गरिएको छ । तर चालु आर्थिक वर्षका लागि भने बजेट विनियोजन गरिएको छैन ।