• ७ चैत २०८२, शनिबार

निर्वाचनको समीक्षा गर्न ढिलाइ गर्नुहुन्न : पूर्वमन्त्री गुरुङ

blog

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ समीक्षा कार्यक्रममा ।

गोरखापत्र अनलाइन

दोलखा, चैत ७ गते । नेकपा (एमाले) का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

दोलखाको चरिकोटमा आयोजित जिल्ला पार्टी कमिटीको निर्वाचन समिक्षासम्बन्धि बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । नेता गुरुङले निर्वाचनको समग्रतामा समीक्षा गरेर देश र जनताको हितमा गर्नुपर्ने काममा एमाले केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा हार र जित जे भए पनि एमाले जनताको मनमा भने बस्न सफल भएको जिकिर समेत गर्नुभयो । 

एमालेले मात्र मुलुकलाई सङ्कटबाट मुक्त गराउने भएकाले उसले योजनाबद्ध ढङ्गले देश र जनताको हितमा गरिरहेको कामलाई तीव्रता दिनुपर्ने नेता गुरुङको भनाइ थियो। उहाँले भन्नुभयो, “निर्वाचनको समीक्षा गरेर अघि बढने कुरामा एमालेले ढिलाइ गर्नुहुन्न। मुलुकलाई समृद्ध बनाउने योजनालाई अघि बढाउने काममा एमाले केन्द्रित हुनुपर्ने अवस्था छ । निर्वाचनमा हारजित जे भए पनि एमाले नेपाली जनताको मनमा बस्न भने सफल भएको छ। 

नेता गुरुङले एमालेसँग मात्र मुलुकलाई सङ्कटबाट जोगाउने भिजन भएको दाबी समेत गर्नुभयो । त्यस अवसरमा उहाँले दोलखाको समग्र विकासमा आफूहरू सधैं लागिरहने समेत बताउनुभयो।