• ७ चैत २०८२, शनिबार

केरालामा बर्ड फ्लूको प्रकोपः हजारौँ चरा नष्ट गर्ने निर्णय

blog

नयाँ दिल्ली, चैत ७ गते । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरूले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । कोझिकोडमा करिब १४ हजार दुई सय २८ र अलप्पुझामा पाँच हजार ९६१ वटा चरालाई नष्ट गरिने छ ।

उक्त निर्णय नेसनल इन्स्टिच्युट अफ हाई सेक्युरिटी एनिमल डिजिजेस, भोपालमा पठाइएका नमूनामा उच्च सङ्क्रामक एभियन इन्फ्लुएन्जा पुष्टि भएपछि लिइएको हो । हालसम्म यो रोग केवल चरामा मात्र देखिएको छ । तर सर्वसाधारणलाई सतर्क रहन र असामान्य रूपमा धेरै चरा मरेको देखिएमा नजिकको पशु अस्पतालमा जानकारी दिन आग्रह गरिएको छ । रासस/सिन्ह्वा