• ७ चैत २०८२, शनिबार

जनजाति महासङ्घको बन्दसत्र जारी, नेतृत्व आजै चयन हुने

blog

महासङ्घको ११ औं महाधिवेशनको बन्दसत्रमा सहभागी नेतृत्व र प्रतिनिधिहरू । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत ७ गते । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को ११ औं महाधिवेशनको बन्दसत्र आज पनि जारी छ । चैत ५ र ६ गते समय निर्धारण गरिएको बन्दसत्र लम्बिँदा आज तेस्रो दिन पनि जारी छ । 

स्वयम्भुको स्टार पार्टी प्यालेस काठमाडौँमा जारी बन्दसत्रमा महासचिव दिवस राईको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विमल सारु मगरको आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । आज सो प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राख्नेक्रम सकिएपछि महासचिव र कोषाध्यक्षले जवाफ दिनुहुने छ । 

प्रतिवेदन पारित भएपछि आजै अपरान्हदेखि निर्वाचन प्रक्रिया सुरु हुने महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो । उहाँका अनुसार अन्तिम समयसम्म सर्वसम्मत नेतृत्वको प्रयास हुने छ । सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचन हुने उहाँले बताउनुभयो । 


महासङ्घमा दलीय सम्बद्धता हटाउनुपर्ने, महासङ्घलाई सबैको साझा बनाउनुपर्ने माग राख्दै जेन्जी युवा समूहले शुक्रबार साँझ विरोध जनाएका थिए । महासङ्घको नेतृत्वका लागि दिवस राई, जीवन हाछेथु, अमृत सुनुवार, निमा शेर्पा, मोहन छन्त्यालको दाबी रहेको छ । २१ सदस्यीय नयाँ कार्य समिति शनिबार रातिसम्म चयन भइसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । 

बन्दसत्रमा प्रतिनिधिहरूले महासङ्घको नीति स्पट बनाइनुपर्ने, महासङ्घमा आबद्ध जातीय संस्थाहरूको सक्रियता बढाउनुपर्ने, आदिवासी मन्त्रालयका लागि सरकारसँग पहल गर्नुपर्ने, संविधानमा सुनिश्चित गरिएका आदिवासी अधिकार कार्यान्वयनका लागि ठोस पहल गरिनुपर्ने, आदिवासी महासङ्घको आफ्नै भवन निर्माण गरिनुपर्ने, आदिवासीको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्र सुनिश्चित गरिनुपर्ने, प्रदेशको नामाकरण पहिचानको आधारमा गरिनुपर्ने लगायतका माग सम्बोधनका लागि पहल गर्न सुझाव दिनुभएको थियो । 


सुझाव दिने प्रतिनिधिहरूमा अमृत सुनुवार, लाक्पा तामाङ, राजु कुशवाडिया, गजेन्द्र तुलाचन, सुन्दर आलेलगायत रहनुभएको थियो ।