• ७ चैत २०८२, शनिबार

बजेट नआउँदा प्रशासनिक भवन निर्माण रोकिने चिन्ता

blog

मोरङको पथरीशनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रमुख प्रशासनिक भवन । तस्बिरः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत ७ गते । स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा  मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ । 

विभागले ठेक्काको ५० प्रतिशत वित्तीय खर्च बेहोर्ने सर्तमा पथरीशनिश्चरे नगरपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण थालेको थियो । नगरपालिकाले आफूले बेहोर्ने ५० प्रतिशत रकमसहित हालसम्म पाँच करोड ७४ लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ । 

हालसम्म ५० प्रतिशत मात्र वित्तीय प्रगति भए पनि भौतिक प्रगति ७० प्रतिशत भइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले भन्नुभयो, “स्थानीय पूर्वाधार विकास विभागले ८१ लाख रुपियाँ मात्र पठाएको छ । नगरले आफैं खर्च गरेर भुक्तान दिन सकिने अवस्था छैन् । अहिले निर्माण कम्पनीलाई पैसा तिरेमा त्यो रकम पुनः नगरपालिकाको खातामा सोधभर्ना वापत आउने व्यवस्था छैन । त्यसैले नगरको विकास बजेट काटेर भवन निर्माणमा लगाउन सकिन्न ।’ 

उहाँले समयमा निर्माण कम्पनीलाई भुक्तानी दिन सके तोकिएको समय २०८३ चैतभन्दा अगाडि नै निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । राज्य पुनरसंरचनापछि लामो विवाद भएर पालिकाको भवन पथरी शनिश्चरे नगरपालिकाको वडा १० मा २०८२ जेठ ५ गते शिलान्याश भई निर्माण हुन थालेको हो । 

२०८२ को वैशाख ५ गते निर्माण कम्पनी र नगरपालिकाबिच भएको सम्झौता अनुसार २०८३ को चैत मसान्तसम्ममा भवन निर्माण गरिसक्नु पर्ने छ । तर हाल भइरहेको कामको तीब्रता हेर्ने हो भने भवन निर्माण अबको ६ महिनामा सम्पन्न हुने देखिन्छ । १२ कट्ठा सरकारी जग्गाको भोगाधिकार व्यवस्थापन गरी ११ करोड ८ लाख २५ हजार ७१८ रुपियाँमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको हो । 

५ तले भवन निर्माणका लागि नगरले २० करोड ३ लाख २३ हजार रुपियाँको डिपीआर तयार गरी टेन्डर आह्वान गरेको थियो । निर्माण कम्पनी अर्थो डेभलोपर्स डिजाइनर हेटौँडाले ३८ प्रतिशत कमीमा भवन बनाउने गरी टेन्डर प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताउनुभयो ।

खतिवडाका अनुसार चालु आर्थिक वर्षमा नगरले ४ करोड ७० लाख रुपियाँ विनियोजन गरेको थियो । नगरले विनियोजन गरेको रकममा विभागले पठाएको ८१ लाख थपेर हामीले पाँच करोड ७४ लाख भुक्तान गरिसक्यौं । विभागसँग पैसा मागिरहेका छौं । चैत १ गते बढेको इन्धनको मूल्यले लागत खर्च अझ बढ्ने भन्दै निर्माण कम्पनीले हालसम्म भएको भौतिक प्रगतिको रकम बारम्बार माग गरिरहेको प्रशासकीय अधिकृत खतिवडाले बताउनुभयो । 

उता स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन इन्जिनीयर निशा त्रिपाठीले  विभागले प्राप्त गरेको २ अर्ब रुपियाँ देशभर निर्माण भइरहेका १६६ वटा नगर–गाउँपालिकाका भवनलाई भौतिक प्रगतिका आधारमा वितरण गरेको बताउनुभयो । 

हामीमा सिर्जित दायित्वबाट हामी पछि सर्ने सर्दैनौं । तर, बजेट नै नभएर हो । रकमान्तर भएर बजेट आयो भने केही रकम असार अगाडि पनि पठाउँछौं । बजेट आएन भने साउन पछि मात्र पैसा जान्छ । उहाँले पथरीशनिश्चरे नगरपालिकाको भवन मङ्सिर ३ गते मात्र छनाेट भएकोले यो वर्ष कम पैसा गएको जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत खतिवडाले विभागबाट पैसा नआउँदा तोकिएको समयभन्दा अघि भवन निर्माण सम्पन्न गर्न बाधा भएको जानकारी दिनुुभयो । अहिलेसम्म निर्माण कम्पनीले गरेको भौतिक प्रगति अनुसार भुक्तानी दिन सकेका छैनौं । पैसा नदिँदा काम रोकिने चिन्ता छ, उहाँले भन्नुुभयो ।