• ११ असोज २०८१, शुक्रबार

एउटै निर्वाचन क्षेत्रबाट तीन महिला सांसद

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर २७ गते। सुदूरपश्चिमबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व नै कम रहेको बेला कैलालीको निर्वाचन क्षेत्र नम्बर १ ले भने तीन जना महिला सांसद पाएको छ। एक जना प्रत्यक्ष निर्वाचित र दुई जना समानुपातिकतर्फबाट गरेर यो निर्वाचन क्षेत्रले तीन जना महिला सांसद पाएको हो। 

यो निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अत्यधिक मत पाएर सांसदमा विजयी हुनु भएको थियो। प्रत्यक्षबाट महिला सांसद पाएको यो निर्वाचन क्षेत्र थप दुई जना महिला सांसद समानुपातिकतर्फबाट पाएको हो। 

समानुपातिकबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने र नेकपा (माओवादी केन्द्र) की रुपासोसी चौधरी सांसद हुनु भएको छ। दुवै जना क्षेत्र नम्बर १ कै बासिन्दा हुनुहुन्छ। 

कतिपय जिल्लाले एक सांसदमामात्रै चित्त बुझाएको बेला कैलाली क्षेत्र क्षेत्र नम्बर १ भने तीन वटा सांसद पाउने भाग्यशाली निर्वाचन क्षेत्र बनेको छ। अझ तीनै जना सांसद महिला भएका कारणले यो निर्वाचन क्षेत्रको गरिमा झनै बढेको छ। न्यौपाने यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षबाट लड्दा पराजित भइ तेस्रो स्थान प्राप्त गर्नु भएको थियो। उहाँलाई यस पटक नेपाली कांग्रेसले महिला कोटाबाट सांसद बनाएको छ। 

यसैगरी, २०६४ को संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाटै चौधरी भने सभासदमा विजयी हुनु भएको थियो। उहाँ थारु कोटाबाट समानुपातिकतर्फको सांसद छानिनु भएको छ।  

२०७४ को निर्वाचनपछि पाँच वर्षसम्म यो निर्वाचन क्षेत्र सांसदबिहीन बनेको थियो। सो क्षेत्रबाट अत्यधिक जनमत प्राप्त गरेर तत्कालीन टीकापुर घटनाका आरोपित रेशम चौधरी विजयी हुनुभएको थियो। तर, पछि अदालतले उहाँलाई दोषी ठहर गरेर कैद सजाय सुनाएपछि यो क्षेत्र सांसदबिहीन भएको थियो। चौधरीलाई सांसदबाटसमेत निलम्बन गरिएपछि क्षेत्र नम्बर १ पाँच वर्षसम्म आफ्नो सांसदबिहीन रह्यो। 

पाँच वर्षसम्म सांसदबिहीन बनेको क्षेत्र नम्बर १ यस पटक भने त्यसको क्षतिपूर्ति हुने गरी तीन सांसद पाएको छ। यस्तै, बर्दिया क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित लालवीर चौधरी पनि यहि निर्वाचन क्षेत्रका बासिन्दा हुनुहुन्छ। 

एउटै क्षेत्रबाट तीन जना महिला सदनमा पुगेपछि क्षेत्र नम्बर १ बासी खुशी भएका छन्। यस क्षेत्रको कल्याणका लागि तीनै जनाले मिलेर केही न केही गरेर देखाउने उनीहरुको विश्वास छ।