• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिमा शिक्षक

blog

राजनीतिमा शिक्षकको संलग्नताको विषयलाई लिएर पक्ष विपक्षमा बहस भइरहेको छ। यो विषयले मिडियामा पनि राम्रै स्थान पाएको छ। शिक्षक सक्रिय राजनीतिमा संलग्न भएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेको अवस्थामा शिक्षक राजनीतिक गतिविधिमा संलग्न रहँदा यसमाथि प्रश्न उठ्नु स्वाभाविकै हो। यद्यपि यस विषयलाई शिक्षकले गम्भीरतापूर्वक लिएको देखिँदैन। केही ठूला दलका शीर्ष नेताले शिक्षकलाई राजनीति गर्न नदिने हो भने कुनै पनि राजनीतिक दल चल्न नसक्ने बताउँदै आएका छन्।

भर्खरै सम्पन्न आमनिर्वाचनमा ‘निर्वाचन आयोग’ ले “कुनै पनि दलका उम्मेदवारलाई समर्थन वा विरोध नगर्न र सम्बन्धित समाचारलाई लाइक, कमेन्ट वा सेयर नगर्न” भन्दै शिक्षकमाथि प्रतिबन्ध लगायो। राजनीतिक दलको कार्यक्रममा संलग्न केही शिक्षकलाई स्पष्टीकरणसमेत सोधेको समाचार बाहिरियो। निर्वाचन आयोगको यो कदम अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै शिक्षकले विरोधसमेत जनाए। गत वर्ष सम्पन्न प्रमुख राजनीतिक दलको राष्ट्रिय महाधिवेशनमा पनि शिक्षकलाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराएकोमा चर्को आलोचना भएको थियो। दलको महाधिवेशनमा शिक्षकलाई सहभागिता गराइएको विषयलाई लिएर चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले महाधिवेशनमा सहभागी नगराउन दललाई निर्देशनसमेत दिएको थियो। यद्यपि निर्वाचन आयोगको सो निर्देशनलाई बेवास्ता गर्दै विभिन्न दलले सयौँको सङ्ख्यामा शिक्षकलाई आफ्नो महाधिवेशनमा सहभागी गराए।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ (५) (छ) मा ‘शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य भएको पाइएमा पदबाट हटाउन सकिने’ कानुनी व्यवस्था छ। यद्यपि सो कानुनी व्यवस्था बेवास्ता गर्दै शिक्षक दलको महाधिवेशन प्रतिनिधि मात्र नभई कार्यकारिणी समितिमा समेत निर्वाचित भएको समाचार बाहिरिएको थियो। दलको महाधिवेशनमा भाग लिने र कार्यकारिणी समितिमा निर्वाचित भएका यस्ता शिक्षकलाई कारबाही गर्न सरोकारवालाले सम्बन्धित निकायसमक्ष मागसमेत गरेका थिए।  

कतिपयले, “शिक्षकले राजनीति गर्नु गलत हो” भनी तर्क गरिरहेका छन् भने कतिपयले,“मुलुकको हितका लागि शिक्षकले राजनीति गर्न पाउनु पर्छ” भनी वकालत गरिरहेका छन्। हामीले दलको झोला बोकेर हिँड्नुलाई ‘राजनीति’ भनेर गलत व्याख्या गरिरहेका छौँ। ‘राजनीति’ शब्दको सही अर्थ नबुझेर हामीले गरेको अनावश्यक टीकाटिप्पणीले ‘राजनीति’ शब्दमाथि नै अन्याय भइरहेको छ। ‘राजनीति’ शब्द राजनीति दुई शब्दको संयोजनबाट बनेको छ। ‘राज’ को अर्थ, ‘शासन’ हो र ‘नीति’ भन्नाले, ‘सही समय र सही ठाउँमा सही काम गर्ने कला हो।’ अर्थात् ‘कुनै खास नीतिद्वारा शासन गर्ने वा विशेष उद्देश्य हासिल गर्ने कार्यलाई राजनीति भनिन्छ।’ अर्काे शब्दमा भन्नुपर्दा, “राजनीति भनेको जनताको सामाजिक र आर्थिक स्तर (सार्वजनिक जीवनस्तर) माथि उठाउनु हो।” राजनीति नागरिक वा व्यक्तिगत स्तरमा एक विशेष प्रकारको सिद्धान्त र व्यवहार हो।

राजनीतिमा धेरै दृष्टिकोण छन् जस्तै : राजनीतिक विचारहरू अगाडि बढाउने, कानुन बनाउने, विरोधीसँग लड्न बल प्रयोग गर्ने, र यस्तै। राजनीतिको इतिहास धेरै पुरानो छ, जसको विवरण विश्वको सबैभन्दा पुरानो सनातन धर्म ग्रन्थमा समेत उल्लेख गरिएको पाइन्छ। राजनीतिको सुरुवात रामायणकालदेखि नै भएको हो। यसको अधिकांश विवरण महाभारतमा पाइन्छ, चाहे त्यो चक्रव्यूहको सिर्जना होस् वा पाण्डवहरूलाई पासाको खेलमा परास्त गर्ने राजनीति होस्। यद्यपि राजनीतिप्रति जनताको नकारात्मक धारणा हुनु दुर्भाग्य हो। ‘राजनीति समाजको अभिन्न अङ्ग हो’ भन्ने हामीले बुझ्न जरुरी छ। 

राजनीति समाजको अभिन्न अङ्गका रूपमा रहेकाले त्यही समाजमा बस्ने शिक्षक राजनीतिबाट निरपेक्ष रहन सक्दैन। त्यसैले शिक्षकले राजनीति गर्नुहुँदैन भन्ने तर्कसङ्गत छैन। यद्यपि शिक्षकले गर्ने गरेको राजनीति समुदाय र समुदायमा बस्ने मानिसको हितमा छ कि छैन भन्ने सबालचाहिँ महत्वपूर्ण पक्ष हो। आफू बसेको समाजमा बस्ने हरेक व्यक्तिको जीवनसँग शिक्षक जोडिएको हुन्छ। उनीहरूको जीवनस्तर उकास्नमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ।

शिक्षक एक बौद्धिक वर्ग हो, जसले आदर्श बोक्न सक्छ, कुनै पनि राजनीतिक विचारमा विश्वास गर्न सक्छ। त्यसैका आधारमा उसले कृषिमा कस्तो नीति बनाउने, जनस्वास्थ्यमा कसरी सुधार गर्ने, शिक्षा प्रणालीमा कसरी सुधार गर्ने भन्ने विषयमा दलको तर्फबाट बहस गर्न सक्छ। यद्यपि आफूले विश्वास गरेको दलले जे गरे पनि राम्रो गरेको छ भन्दै कक्षा छाडेर दलको कार्यकर्ता बनेर हिँड्ने काम चाहिँ सरासर गलत हो। शिक्षक सामाजिक रूपान्तरणको संवाहक हुन्। शिक्षकले हरेक समाजलाई जनहितका काममा अग्रसर गराउँदै आएका छन्। हरेक समाजलाई मार्गदर्शन गरिरहेको हुन्छन्। सामाजिक विकृति र विसङ्गति तोड्न शिक्षकको अग्रणी भूमिका हुन्छ। मानिस सामाजिक प्राणी हो र उसलाई समाजमैत्री बनाउनु पनि शिक्षककै दायित्वभित्र पर्छ। शिक्षकले नै मानिसलाई समाजको आदर्श, मूल्य र मान्यतासँग परिचित गराउँछ। समाजप्रति हाम्रो कर्तव्य र अधिकार के हो भन्ने विषयमा सचेत गराउँछ। 

शिक्षक राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ। आफ्नो ज्ञानमार्फत बालबालिकालाई राष्ट्रका लागि चाहिने योग्य, दक्ष एवं गुणवान् जनशक्ति तयार गर्ने काम गर्छ। त्यसैले शिक्षक चुप लागेर बस्नु हुँदैन। शिक्षक मौन बस्यो भने समाजको विकास नै अवरूद्ध हुन्छ। शिक्षक राजनीतिबाट अलग भए समाज लङ्गडो हुन्छ। यद्यपि गरिब जनताको गाँस काटेर उठाइएको करबाट सरकारी तलब भत्ता बुझ्ने शिक्षक कुनै खास दलको कार्यकर्ता बन्नु भने सरासर गलत हो। दलीय क्रियाकलापमा शिक्षकको संलग्नता रहनुलाई राजनीति मान्न सकिँदैन। यो जगन्य अपराध हो, समाज र राष्ट्रप्रतिको बेइमानी हो। बालबालिकाको भविष्यमाथिको खेलबाड हो, राष्ट्रघात हो। पेसागत धर्मविरुद्धको अपराध हो।  दलीय राजनीति होइन समाज र राष्ट्रलाई बलियो बनाउने भूमिकामा शिक्षकले राजनीति गर्नुपर्छ। शिक्षा क्षेत्रको सर्वाङ्गीण विकास र परिवर्तनका लागि शिक्षकले अहम् भूमिका खेल्नु पर्छ। यही शिक्षकको पेसागत धर्म हो। समाजलाई सही मार्गमा डो¥याउनु शिक्षकको दायित्व हो। शिक्षकले दलीय राजनीतिलाई त्याग्नुपर्छ। कुनै पनि दलको सदस्य बन्नु हुँदैन। शिक्षक कुनै खास दलको होइन सिङ्गो राष्ट्रको अमूल्य निधि हो।

परापूर्वकालदेखि समाजमा उत्कृष्ट पात्र मानिने शिक्षकको मान प्रतिष्ठामाथि अहिले प्रश्नचिह्न खडा भएको छ। शिक्षकप्रति समाजमा नकारात्मक सन्देशको प्रवाह भएको छ। त्यसैले शिक्षकले राष्ट्रप्रतिको आफ्नो दायित्व र कर्तव्यलाई बिर्सेर आफ्नो इज्जत घटाउने काम गर्नु हुँदैन। देशलाई समृद्धितर्फ लैजान राम्रो र परिणाममुखी शिक्षा नीति निर्माण गर्न शिक्षकको राजनीतिले भूमिका खेल्नुपर्छ।