• १३ असोज २०८१, आइतबार

सिगासवासीको बिजुली बाल्ने धोको अधुरै

blog

गोकर्ण दयाल 

बैतडी, मङ्सिर २५ गते  ।  गाउँमा बिजुलीको पोल गाडेर तार तानिएको पाँच वर्ष बित्यो। ट्रान्सफर्मर राखेको छ महिना भयो। बिजुली बल्ने आसमा स्थानीयले घरघरमा वायरिङसमेत गरेका छन् तर विद्युत्का पोल हावाले ढलेपछि स्थानीयको बिजुली बाल्ने धोको अधुरै रहेको छ। बैतडीको सिगास गाउँपालिकाले बितेका पाँच वर्षमा १० करोड ७० लाख रुपियाँभन्दा बढी खर्च गरिसक्दा पनि गाउँपालिकाका २५ हजार स्थानीयवासी झरो र टुकी बाल्न बाध्य छन्। 

विद्युत् नहुँदा गाउँपालिकादेखि वडा कार्यालय र बैङ्कको सेवा प्रभावित हुने गरेको छ। घाम लागेको दिन सोलारले काम गरे पनि बादल लागेको दिन यहाँ टेलिफोनको नेटवर्कसमेत आउँदैन। फोटोकपी गर्न यहाँका स्थानीयले १० रुपियाँदेखि ५० रुपियाँसम्म तिर्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–१ का पदम ऐरले गुनासो गर्नुभयो। 

विद्युत् नहुँदा वडा कार्यालयमा रहेको आधारभूत स्वास्थ्य संस्थामा बालबालिका र गर्भवती महिलाले पाउनुपर्ने अत्यावश्यक खोपसमेत पाइँदैन। फ्रिजमा खोप भण्डारण गर्न विद्युत् आवश्यक पर्ने भएकाले आधारभूत स्वास्य संस्थामा खोप राख्न नसकिएको स्वास्थ्य संस्थाका नरेन्द्र ऐरीले बताउनुभयो। खोप लगाउने दिन गाँजरी स्वास्थ्य चौकीबाट खोप मगाएर लगाउने गरिएको उहाँले बताउनुभयो। विद्युत् भए खोप भण्डार गर्न सकिने र सुत्केरी सेवा दिँदा सोलार टुकी बाल्नुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो। 

उपभोक्ता समितिमार्फत विद्युत् विस्तारको काम गराउँदा लापरबाही भएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कवीन्द्र ओझाले बताउनुभयो। उहाँले भन्नुभयो, “भुक्तानी लगेर पनि उपभोक्ता समितिले राम्रो काम गरेनन्। गाउँपालिकाभरि विद्युत् नहुँदा पालिकाको काममा समेत समस्या हुने गरेको छ।” बैतडीका कुल ४५ हजार घरधुरीमध्ये हालसम्म १२ हजार घरधुरीमा मात्रै बत्तीको पहुँच पुगेको छ।