• ५ जेठ २०८१, शनिबार

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

blog

काठमाडौँ, मङ्सिर २४ गते । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।  

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताउनुभयो । बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताउनुभयो ।

सरकारले स्वास्थ्य बीमा तिरिदिएका बिरामीलाई पनि थप शुल्क नलाग्ने जानकारी दिँदै उहाँले अनावश्यक परीक्षणलाई रोक्नका लागि थप शुल्कको व्यवस्था गर्न लागिएको बताउनुभयो । स्वास्थ्य बीमाका लागि सूचीकृत अस्पतालहरूले आफूखुसी पैसा लिने, परीक्षण उपचार तथा औषधिको अभाव देखाउने, बीमित र बोर्डसँग समेत दोहोरो पैसा लिन थालेपछि व्यवस्थित गर्नका लागि यो नियम लागू गर्न लागिएको जानकारी बसौलाले दिनुभयो । स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले उपचारमा जति शुल्क लिइएको छ, त्यसको १० प्रतिशत थप रकम उठाउन लागिएको जानकारी दिनुभयो । एक सय रुपियाँ बराबरको उपचार गरेको छ भने थप १० रुपियाँ लिने व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ । ज्ञवालीले १० प्रतिशत थप शुल्क सबैलाई नभई निश्चित व्यक्ति र अस्पतालहरूमा मात्रै लागू हुने बताउनुभयो ।

“प्रादेशिक अस्पतालसम्म थप १० प्रतिशत शुल्क तिर्नुपर्दैन,” उहाँले भन्नुभयो, “केन्द्रीय अस्पतालमा उपचार गर्ने बिरामीले भने कुल उठेको १० प्रतिशतसम्म आफैँले व्यहोर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।’’ केन्द्रमा रिफर गरिएका अस्पतालमा उपचार गरेकाहरूबाट थप शुल्क लिँदा अनावश्यक परीक्षण घट्न सक्ने उहाँको भनाइ छ । 

ज्ञवालीले प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेश स्तरीय अस्पतालमा थप १० प्रतिशत शुल्क लागू नहुने बताउनुभयो । उहाँका अनुसार आकस्मिक सेवामा पनि १० प्रतिशत शुल्क बुझाउनुपर्दैन । बोर्डले लक्षित वर्गलाई भने शुल्क नतोक्ने भएको छ । लक्षित वर्गमा अतिगरिब, अतिअशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल खालका क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले १० प्रतिशत थप शुल्क बुझाउनुपर्दैन । क्यान्सर, मिर्गौला, मुटु र गम्भीर प्रकारका रोगको प्याकेजमा नै उपचारको व्यवस्था हुने उहाँको भनाइ छ । 

एक पटक रिफर गरेपछि फेरि गर्न नपर्ने गरी कार्यविधि बनाउन थालिएको उहाँले बताउनुभयो । हाल एक पटक रिफर गरेपछि एक सातापछि पुनः रिफर ल्याउनुपर्ने व्यवस्था रहेको छ । प्रथम सेवा बिन्दुको अस्पतालबाट रिफर कुनै अस्पतालमा गरेपछि त्यहाँ पनि उपचार नभए पनि फेरि प्रथम सेवा बिन्दुकै अस्पतालमा आएर रिफर लेख्नुपर्ने थियो । त्यसले बीमितलाई समस्या पर्ने भएकाले एक पटक रिफर गरेपछि पुनः रिफर गर्नु नपर्ने भएको छ ।

बीमा कम्पनीले हाल प्रतिपरिवार पाँच जनासम्म वार्षिक तीन हजार पाँच सय रुपियाँ लिने गरेको छ भने पाँच जनाभन्दा बढी परिवार छ भने थप शुल्क बुझाउनुपर्छ । सरकारले अतिगरिब, अतिअशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल खालका क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्ने गरेको छ । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।