• १४ वैशाख २०८१, शुक्रबार

‘राजनीतिक र आर्थिक सङ्कट एकसाथ आउने खतरा’

blog

चितवन समाचारदाता

चितवन, मङ्सिर २३ गते । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक र आर्थिक सङ्कट एकै पटक आउन सक्ने खतरा रहेको दाबी गर्नुभएको छ । 

प्रेस चौतारी चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले आर्थिक र राजनीतिक सङ्कट एकै पटक आएमा एमाले र कांग्रेस एकै ठाउँमा उभिएर देशलाई निकास दिन आवश्यक पर्न सक्ने बताउनुभयो । देशमा राजनीतिक सङ्कटको अवस्थासँगै आर्थिक सङ्कट आउने वातावरण सिर्जना भएको बताउँदै उहाँले भन्नुभयो, “बैङ्कले ऋण दिन सकेको छैन । देशमा विदेशी मुद्राको सञ्चिति घटेको छ । राजस्व वृद्धि हुन सकेको छैन । देशले लिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेपछि अहिले आयात खुला गर्ने नीति अगाडि सारेको छ । यसले अझ आर्थिक सङ्कट पैदा हुन्छ ।” 

उपाध्यक्ष पाण्डेले देशमा हुने परिवर्तनका पक्षमा र राज्यलाई सङ्कट आएको अवस्थामा एमाले र कांग्रेस एकै ठाउँमा उभिएर निकास दिएको इतिहास साक्षी भएको तर्क गर्नुभयो । हालै भएको निर्वाचनले कुनै एक दललाई प्रस्ट बहुमत नदिएकाले नयाँ बन्ने सरकार बलियो नहुने दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “विगतको इतिहास हेर्दा मिलिजुली सरकार बनेका र त्यस्तो सरकारले दूरगामी काम गर्न नसकेको पाइएको छ । अब बन्ने सरकारले पनि कसरी सत्ता टिकाउन सकिन्छ भनेर ध्यान केन्द्रित गर्ने हुँदा देशको काम थोरै र मन्त्रीको चित्त बुझाउने काममा धेरै समयमा खर्च हुने देखिन्छ ।” 

उहाँले अहिलेको अवस्थामा एमाले सरकारमा जाने सम्भावना कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर देशलाई सङ्कट परेको अवस्थामा एमाले नेतृत्व लिएर जान पनि सक्छ सरकारमा, सहभागी नभएर सहयोग गरेर जान पनि सक्छ ।” एमाले नेता पाण्डेले भन्नुभयो, “एमाले र कांग्रेस मिलेर सरकार बनाए बहुमत पुग्ने अवस्था छ । यी दुई दलबाहेक अन्यलाई लिएर जाँदा चारदेखि पाँच दल मिल्नुपर्ने हुन्छ । यस्तो सरकारले कामभन्दा चित्त बुझाएर जाँदाजाँदै समय सकिन्छ ।” हाल भएको निर्वाचनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको भविष्यका विषयमा थप चुनौती थपिएको पनि उहाँले बताउनुभयो । 

देश निर्माणमा अनुभव भएका पुराना पार्टीको सिट सङ्ख्या घटेर गएको र नयाँ आएका दलहरू परीक्षणको समयमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले र कांग्रेसको आकारमा केही कमी आएको छ । जनताले यी पार्टीलाई सचेत बन है भन्ने सन्देश दिएको अवस्था छ । यसले गर्दा नयाँ आएका दललाई काम गरेर देखाउने चुनौती थपिएको छ भने पुराना दलहरूले समीक्षा गरेर कमजोरी भएको ठाउँमा सच्चिएर जानुपर्ने बेला आएको छ ।”