• २८ फागुन २०८१, बुधबार

सहज जितसहित नमोबुद्ध सेमिफाइनलमा

blog

पाँचथर गोल्ड कपमा मंगलबारको खेल ।

नारायण तुम्बापो

फिदिम, फागुन २७ गते। पाचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरी सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दै नमोबुद्ध अन्तिम चारमा पुगेको हो।

खेलको ३९औं र ६५औं मिनेटमा विदेशी खेलाडी एलएक्स विलियमले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। विपक्षी दुई खेलाडीको कडा निगरानी भए पनि गोल गर्दै उनले टिमलाई अग्रता दिलाए। 

दिपेश चाम्लिङ राईको पासलाई गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा दिपेश चाम्लिङ राईले रिबाउन्ड बललाई आकर्षक गोलमा बदल्दै नमोबुद्धको अग्रता दोब्बर बनाए। 

नेपाल पुलिस क्लबले अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै सान्त्वना गोलसमेत गर्न सकेन। खेलको म्यान अफ द म्याच एलएक्स विलियम घोषित भए। उनले नगद सात हजार ५ सय रुपियाँ प्राप्त गरे। 

अब सेमीफाइनलमा नमोबुद्ध युथ क्लबले बिहीबार चर्च ब्वाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेल बुधबार इन्ट्रा पथरी फुटबल क्लब मोरङ र मछिन्द्र फुटबल क्लब काठमाडौंबिच हुनेछ। 

प्रतियोगिताको विजेताले ११ लाख १ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपियाँ पुरस्कार जित्नेछ।