नवराज कट्टेल
विराटनगर, फागुन २७ गते । विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
भन्सार कार्यालयमा मालवस्तु जाँचपास गराएर उद्योगमा अनलोड गरेर फर्कंदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट समान भेटिएपछि अनुसन्धान सुरु गरिएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले घटनापछि दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । राजस्व छलीको सम्भावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जिएच ०४३३६ नम्बरका दुई गाडी नियन्त्रणमा लिइएको हो ।
उद्योगबाट सामान अनलोड गरेर भन्सार प्रवेशमा इन्ट्री गराउने र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेपछि आशङ्का उब्जिएको हो । भारततर्फ फर्कंदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड गरेर फर्किएको हो तर पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो । यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न सक्ने सम्भावना धेरै हुन्छ ।
भन्सार प्रमुख श्रेष्ठले यस्तो स्थिति कसरी आयो भन्नका लागि अनुसन्धान अधिकृत तोकेर घटनाको विषयमा बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । दुवै ट्रकमा कटहरी गाउँपालिकास्थित काबरा ग्रुपले सञ्चालन गर्दै आएको क्वालिटी केम प्रालिको सामान रहेको पाइएको छ ।
विराटनगर भन्सारका अधिकृत एवं मुद्दा शाखाका प्रमुख फर्सबहादुर राईले एउटै नम्बर प्लेटका भारतीय गाडीमा कसरी सामान आयो भन्ने विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले अनलोड भएर फर्किएको गाडी गेटमा इन्ट्री गर्दा भन्सारपरिसरको पार्किङमा त्यही नम्बर गाडी रहेको देखिएको जानकारी दिनुभयो । एकै पटक आउँदै र जाँदै गरेको गाडीको नम्बर एकै हुँदा सिस्टमले लिन नमानेपछि यसको खोजी सुरु गरिएको थियो ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले भारतमा चोरीको गाडी धेरै प्रयोग हुने गरेको बताउनुभयो । उहाँले नेपाल भन्सारमा प्रवेश गरेपछि त्यसको जाँचपास गर्ने प्रक्रियामा छलछाम गर्ने प्रयोजनमा प्रयोग भए/नभएको अहिलेसम्म नखुलेकाले यसै भन्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
एउटै नम्बर प्लेटको गाडी अनलोड गरेर भन्सार पुग्नु र त्यही नम्बर प्लेटको गाडी भन्सारको पार्किङमा हुनुले कहीँ न कहीँ फल्ट छ कि भन्ने शङ्का गर्नु सामान्य रहेको अध्यक्ष शर्माको बुझाइ छ । काबरा ग्रुपका विपिन काबराले कसरी त्यस्तो भयो भन्ने आफूलाई पनि यकिन नभएको बताउनुभयो । “एउटा खाली छ रे, अर्कोमा सामान छ भन्ने आएको छ,” यसको विषय बुझ्नै बाँकी रह्यो ।