गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती बन्छन् भन्ने सोच्नु भ्रम हुने बताउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्य र समर्थकको सभालगत्तै प्रतिनिधि सभामा विशेष समय लिएर प्रचण्डले नागरिक रैती हुन्छन् भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको हो । शासकीय शैलीका कारण जनता निराश बनेको र त्यसको प्रभाव सडकमा देखिन थालेको पनि उहाँले बताउनुभयो ।
विशेष समयमा प्रचण्डले भन्नुभयो, “बर्सौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्र्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरूको यो चहलपहलका पछाडि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् तर म के भन्न चाहन्छु भने यस खालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए तर अहिले चाहिँ अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ ।”
उहाँले जनताको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास भइरहेको पनि बताउनुभयो । प्रतिगमनलाई परास्त गर्न लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने पनि उहाँको धारणा थियो ।
सङ्घीयता र संविधान कार्यान्वयनका कानुन निर्माणमा सरकार अनिच्छुक भएको आरोप पनि प्रचण्डको थियो । उहाँले सरकार गठन नै संविधानमाथिको बलमिच्याइँ भएको आरोप लगाउनुभयो । प्रतिनिधि सभाको विशेष समयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार निर्माणमा बलमिच्याइँ भएको टिप्पणी अनावश्यक भएको बताउनुभयो । परिवर्तनका लागि जोडिएका नागरिक समाजसँग सरकारले पुनः संवाद गर्न आवश्यक रहेको पनि थापाले बताउनुभयो । नागरिकको बृहत्तर हितलाई केन्द्रमा राखेर सरकारले काम अघि बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो । गणतन्त्रमा आफ्ना माग राख्ने ठाउँ भए पनि पछिल्ला गतिविधिमा सतर्क हुनुपर्ने थापाको भनाइ थियो ।
उहाँले अध्यादेश नीतिगत परिवर्तनका लागि ल्याएको बताउनुभयो । अध्यादेशका अन्तरवस्तुका आधारमा आफूले यसअघि पनि विरोध र समर्थन गरेको स्मरण उहाँले गराउनुभयो । सरकारले कामबाटै राजनीतिक दल, संसद् र नागरिकको मन जित्नुपर्ने र अनावश्यक क्षेत्रमा प्रवेश गरेर काम नगर्न थापाले मन्त्रीहरूलाई सुझाव पनि दिनुभयो । कानुन कार्यान्वयनका क्रममा सरकारले कसैलाई पनि काखा र पाखाको नीति लिन नहुने थापाको भनाइ थियो ।
नेकपा (एमाले) का गोकर्ण विष्टले गणतान्त्रिक व्यवस्थाका लागि सहकार्य गरेका शक्तिहरू एक ठाउँमा जुट्न आवश्यक भएको बताउनुभयो । विष्टले राजतन्त्र इतिहास भइसकेकाले पुनः फर्काउने असम्भव प्रयासमा नलाग्न सुझाव पनि दिनुभयो । विगतमा राजतन्त्रकै कतिपय गतिविधिका कारण जनता चाँडै विकल्प खोज्न तयार भएको पनि उहाँले स्मरण गराउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले गणतन्त्र कसैको पनि बक्सिसमा नआएको बताउनुभयो । पछिल्लो दिनमा राजावादी समूहका नाममा भएको प्रदर्शनको पाण्डेले विरोध जनाउनुभयो । पूर्वराजाका पक्षमा भएको प्रदर्शनमा भारतका एक मुख्यमन्त्रीको फोटो देखिनु संयोग मात्र हो ? भन्ने प्रश्न उहाँले गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले वर्तमान संविधान र व्यवस्थाले देशको रक्षा गर्न नसक्ने जिकिर गर्नुभयो । राजावादीहरूको सक्रियताले संसद्समेत तरङ्गित भएकोमा आफू खुसी भएको प्रधानको भनाइ थियो । उहाँले प्रमुख विपक्षी दलका नेता प्रचण्डले संसद्मा दिएको वक्तव्यको पनि आलोचना गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का लेखनाथ दाहालले सरकारका गतिविधिका कारण अराजक व्यक्तिहरूको मनोबल बढेको तर्क गर्नुभयो ।