• १२ वैशाख २०८१, बुधबार

बागमती प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन सहज

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, मङ्सिर २३ गते । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन सहज हुने भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूले प्रदेश सभामा  जितेको  सङ्ख्याका आधारमा सत्ता गठबन्धनका रहेका दलहरूको सरकारलाई निरन्तरता दिन सहज हुने भएको हो । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । प्रदेश सभा निर्वाचनको परिणामअनुसार यस प्रदेशमा कुनै पनि एक दलको सरकार बनाउन एकल बहुमत भने नपुग्ने भएको छ ।

यस प्रदेशमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता देखिएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिल्दा सरकार गठनका लागि आवश्यक सङ्ख्या पुग्ने स्थिति देखिएको छ । प्रत्यक्ष र समानुपातिक प्रणालीबाट कांग्रेसले जितेको ३७ र माओवादी केन्द्रले जितेको २१ गरी ५८ सिट पुग्नेछ । 

सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)को सात सिटसमेत थप गर्दा ६५ प्रदेश सभा सदस्य हुनेछन् ।  कांग्रेस र एमाले मिल्दासमेत ६४ जना प्रदेश सभा सदस्य पुग्नेछन्; जुन सरकार गठनका लागि पर्याप्त हुनेछ ।

११० प्रदेश सभा सदस्यमध्ये यस प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ६६ जना र समानुपातिक प्रणालीबाट ४४ जनाले प्रतिनिधित्व गर्ने संवैधानिक व्यवस्था छ ।  प्रदेशको १३ जिल्लाका ६६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये प्रदेश सभा २०७४ सालमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ २५ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ ।

माओवादी केन्द्रले १४, एमालेले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेकपा (एकीकृत समाजवादी)ले पाँच, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक÷एक प्रदेश सभा सदस्य प्रत्यक्ष प्रणालीतर्फ जितेका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणामअनुसार एमालेले सबैभन्दा बढी १४, कांग्रेसले १२, माओवादी केन्द्रले सात, राप्रपाले छ, नेपाल मजदुर किसान पार्टी र एकीकृत समाजवादीले दुई÷दुई र हाम्रो नेपाली पार्टीले एक जना समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य पाउनेछन् ।