काठमाडौँ, फागुन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले राजा फर्र्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताउनुभयो ।
सांसद विष्टले भन्नुभयो, “समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन ।” अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उहाँले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गर्नुभयो ।
जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढङ्गले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताउनुभयो । लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
सांसद विष्टले युवामा आश जगाउने गरी तीव्र ढङ्गले विकास हुन नसकेको उल्लेख गर्नुभयो । तर देशमा केही नै भएको छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको उहाँको आरोप थियो । रासस