सचिन पोख्रेल
गोठगाँउ (मोरङ), फागुन २७ गते । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग गर्ने बताउनु भएको छ ।
मोरङको गोठगाउँमा मङ्गलबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले विश्वविद्यालयले प्रविधिसँग जोडिएको, अनुसन्धानमुखी तथा रोजगारमूलक शिक्षालाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विश्वविद्यालयले अगाडि सारेको शैक्षिक सुधार अभियान, भौतिक पूर्वाधारकोे सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सरकारको पूर्ण साथ रहने प्रधानमन्त्री ओलीको भनाइ छ ।
समारोहमा दीक्षित भएका विभिन्न सङ्कायका विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेश पलायन नभई मुलुकको विकासमा लाग्न आग्रहसमेत गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘‘म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, अब तपाईंहरू विदेश पलायन हुनेतर्फ सोच्ने होइन, अब मुलुकको समृद्धिका लागि कम्मर कसेर देश बनाउन लागि पर्नुहोस ।’’
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो सीप, ज्ञान र दक्षता प्रयोग गरी मुलुकको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
‘हामीले शिक्षा प्राप्त गरेर मात्र होइन, सिकेको ज्ञानलाई व्यवहारमा उतारेर देशको समृद्धिमा टेवा पुर्याउनुपर्छ,’ उहाँको स्पष्ट भनाइ छ ।
प्रधानमन्त्री ओलीले दीक्षित भएका सबै शिक्षित जनशक्तिलाई देशभित्रै अवसरहरू खोज्न, सिर्जनशील उद्यमशीलता अँगाल्न र मुलुकको समग्र विकासमा योगदान दिन आग्रह गर्नुभयो ।
‘हामीले शिक्षालाई रोजगारसँग जोड्नुपर्छ । यहाँ सिकेको ज्ञान र सीपलाई प्रयोग गरी स्वदेशमै उद्यमशील बन्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय युवा शक्ति विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै राज्यको प्राथमिकता स्वदेशमै गुणस्तरीय शिक्षा, रोजगारी र अवसर सिर्जना गर्ने रहेको स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले उच्च शिक्षामा नवप्रवर्तन (इनोभेसन) तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, विश्वविद्यालयहरूलाई आधुनिक प्रविधिसँग सुसज्जित बनाउने तथा उच्च शिक्षापछि नेपालमै रोजगारी सुनिश्चित गर्ने योजनालाई अघि बढाइरहेको जानकारी गराउनु भएको थियो ।
समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रख्यात चिकित्सक, मानव अधिकार अभियन्ता तथा दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विद्याथीहरु उच्च शिक्षाका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दैछ महिनाको अवधिमा वैदेशिक अध्ययनको क्रममा नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ४३ करोड रुपयाँ बराबर खर्च गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
उहाँले हुने खाने परिवारका युवा जनशक्ति अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायतका देशमा पलायन हुने र दिनहीन परिवारको अन्य युवा कतार, साउदी अरब, मलेसियालगायतका खाडी मुलुकमा पलानयन हुने क्रम बढेको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा बिजुकुमार थपलियाले दीक्षित भएका विद्यार्थीको काँधमा मुलुकलाई आत्मनिर्भर, समृद्ध र अझै गौरव गर्न लायक देश बनाउने महत्त्वपूर्ण जिम्मेवारी आएको बताउनु भयो ।
समारोहमा विभिन्न सात वटा सङ्कायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तहका आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।
सो अवसरमा स्नातक, स्नातकोत्तर र एमफिल तहका विभिन्न सत्र जना विद्यार्थीलाई स्वर्ण पदकबाट सम्मानित गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा निर्माण गरिएको स्कुल अफ एग्रिकल्चर र स्कुल अफ हेल्थ साइन्सको भवनको समुद्घाटनसमेत गर्नुभएको थियो ।