• १६ चैत २०८०, शुक्रबार

मकल, आगो तथा हिटर बाल्दा होसियार

‘कोठा तातो बनाउँदा अकालमै ज्यान जान सक्छ’

blog

सिर्जना खत्री 

काठमाडौं, मंसिर २२ गते । देशैभर चिसो बढ्दै गएको छ । चिसोबाट बच्न हामीले विभिन्न उपाय अपनाउने गर्दछौँ । चिसोबाट बच्ने उपाय भनेको कोठा र शरीरलाई न्यानो बनाउन मकलमा आगो बाल्ने तथा हिटर बाल्ने र बाथरुममा ग्यास गिजरको प्रयोग गरेर नुहाउने चलन सहरी क्षेत्रमा छ ।  

के तपाईँलाई थाहा छ चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जान सक्छ । वर्षेनि कोठा तातो बनाउँदा हरेक वर्ष कयौँ मानिस निसासिएर अकालमै ज्यान गुमाउन बाध्य छन् भने कयौँ जीवनभरको लागि कोमामा पुग्ने गएका थुप्रै घटना सुनिन्छन् ।  

वीर अस्पतालका छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले जाडो मौसममा अस्पतालको सघन उपचार कक्षमा यस्ता थुप्रै घटना आउने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “यो वर्ष भर्खर जाडो सुरु भएको छ । त्यसैले त्यस्ता कुनै पनि अप्रिय घटना सुन्नमा आएका छैनन् । तर, अघिल्ला वर्षमा निसासियर बच्चादेखि वृद्धसम्म वा परिवारका सबै सदस्य समेत आएका छन् ।” 

चिकित्सकअनुसार हिटर ताप्दा सामान्यतया सबैलाई सामान्य देखि जटिल असर गर्छ । तर, दीर्घरोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, स्वाँस्वाँ हुने जस्ता समस्या झन् बढ्ने डा. श्रेष्ठ बताउनुहुन्छ । 

डा. श्रेष्ठका अनुसार बन्द कोठाभित्र हिटर ताप्दा विभिन्न किसिमका भाइरस, फङ्गस, इफ्लुएन्जा, कोभिड–१९ जस्ता श्वासप्रश्वास रोगीहरूबाट रोग सर्ने जोखिम उच्च हुन्छ ।

कुन जोखिम 

बजारमा दुई प्रकारका हिटर पाइन्छन् । एउटा इलेक्ट्रिक हिटर जुन विद्युतको सायताले बोल्छ । जुन हिटर बन्द कोठमा बाल्दा कोठाको हावालाई सुख्खा बनाउने गर्छ । त्यसैले, लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखासुक्खा बनाई ओठ सुख्खा भई फुट्ने, नाकभित्र सुख्खा हुने, नाकमा साइनसको समस्या आउने, नाकबाट रगत बग्ने, छाला फुस्रो हुने जस्ता समस्या निम्त्याउने उहाँ बताउनुहुन्छ । 

त्यस्तै, इन्धनको प्रयोगले बल्ने वा ग्यासले बल्ने हिटर, ग्यास गिजर, मकल, आगो, गुइँठा बल्ने क्रममा कोठाभित्र भएको अक्सिजनको मात्रा घटाइदिन्छ । यस्तो हिटरले कार्बन मोनोअक्साइड युक्त विषालु ग्यास फाल्ने गर्छ । जुन ग्यासले कोठामा भएको अक्सिजनको मात्रा कम गरी मानिसको शरीरको अक्सिजनको मात्र घटाई विभिन्न स्वास्थ्य समस्या निम्तने चिकित्सक बताउँछन् ।  

 मृत्यु कसरी हुन्छ ?

कोठा न्यानो पार्नका लागि बालिने कोइला, दाउरा, ग्यास हिटर र ग्यास गिजरबाट कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ । त्यसबाट निस्किएको कार्बन मोनोअक्साइड ग्यासले कोठाको अक्सिजनको मात्रा घटाउँछ । 

छाती रोग विशेषज्ञ डा. निरज बमकाअनुसार कोठामा अक्सिजनको मात्र कम भएपछि स्वासको माध्यमबाट कोठामा फैलिएको कार्बन मोनोअक्साइड फोक्सोमा जान्छ । फोक्सोले रगतका कोषिकाहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ । फोक्सोमा कार्बन मोनोअक्साइड ग्यास गएपछि फोक्सोले रगतका कोषिकाहरु उक्त ग्यास पुर्‍याउँछ । कार्बन मोनोअक्साइडले रगतमा रहेको रक्तकोषिका र दिमागमा अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुने र  मुटुको चाल समेत गडबढ हुने मृत्युसमेत हुने डा. बम बताउनुहुन्छ । 

लक्षणहरू 

बन्द कोठामा अक्सिजनको मात्र कम हुँदै गएपछि टाउको दुख्ने, रिंगाटा लाग्ने, वाकवाकी लाग्ने, मन्द बेहोसी हुने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । यदि त्यो व्यक्ति त्यही वातावरणमा रहिरहेमा पूर्ण बेहोस हुने र पाँच देखि १० मिनेटमा मृत्युसमेत हुने डा. श्रेष्ठको भनाइ छ । 

दिमागमा एक मिनेट सम्म अक्सिजनको मात्रा कम भएमा दिमागले काम गर्ने क्षमता कम हुने श्रेष्ठको भनाइ छ । यदि यस्तो अवस्थामा तुरुन्त अक्सिजन दिन सकियो र हावा आवतजावत गर्ने वातावरण मिलाउने र अक्सिजन दिन सकिएमा यस्ता व्यक्तिलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । 

चिकित्सककाअनुसार यस्तो अवस्थामा लामो अवस्थासम्म उपचार गर्न सकिएन भने दिमागमा पुगेको क्षतिलाई कम गर्न सकिँदैन र त्यो व्यक्ति कोमामा जाने र मृत्युसमेत हुन सक्छ । 

बच्ने उपाय 

बाथरुममा गिजर खोलेर नुहाउँदा, झ्याल र ढोका बन्द हुँदा अक्सिजनको मात्रा कम भई बेहोस भएर ढल्ने सम्भावना बढी हुन्छ । 

त्यसैले जाडोमा यस्ता सामग्रीको प्रयोग गर्दा झ्याल वा भेन्टिलेटर खुल्ला राखेर प्रयोग गर्न डा. श्रेष्ठको सुझाव छ । 

श्रेष्ठ भन्नुहुन्छ, “ग्यास गिजरको प्रयोग गरेर नुहाउँदा, कोठामा हिटर, आगो गुइँठा बाल्दा कोठामा हावा आवतजावत गर्ने वातावरण मिलाउने । त्यसैगरी, इलेक्ट्रिक हिटर ताप्ने बेलामा वरिपरिको वातावरणलाई सुख्खा बनाउने हुँदा कोठा भित्र एउटा भाँडोमा पानी राख्ने जसले गर्दा कोठाको हावालाई सुख्खा हुन दिँदैन ।” 

सुत्ने बेलामा सकेसम्म हिटर बन्द गर्ने, दीर्घ रोगी ,श्वासप्रश्वासका रोगी, मुटु रोगीहरू र नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने चिकित्सकको सुझाव छ  ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।