• ८ वैशाख २०८१, शनिबार

नाम्खाको कार्यालय सदरमुकाममा राखिँदा सेवाग्राहीलाई सास्ती

blog

कार्यालय तत्काल नाम्खा गाउँपालिकामै सार्न स्थानीय माग

राजन रावत 

हुम्ला मङ्सिर २० गते । नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न  माग गर्नु भएको छ । पत्रकार महासङ्घ हुम्ला शाखाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले उक्त माग गर्नु भएको हो । 

सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र आरामका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको भन्दै तत्काल कार्यालय स्थानीय तहमै सार्न माग गरेको छ । नाम्खा गाउँपालिका–४ का पेमा डम्डुल लामाले तत्काल सम्पर्क कार्यालय बन्द गर्न माग गर्नुभयो । कानुन विपरीत स्थानीय सरकारको महसुसै नहुने गरी सुविधा भोगी कर्मचारीको कारण स्थानीय सरकारको बजेट समेत महँगो भाडामा खर्च गरेको र स्थानीय सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँको भनाई छ । 

तत्काल कार्यालय स्थानीय तहमै नसारे माथिल्लो निकायसम्म हारगुहार गर्ने सेवाग्राहीले माग गर्नुभयो । यो गाउँ गाउँमा सिंहदरबार भन्ने कुरालाई खिल्ली उडाएको आरोप लगाएका छन् । नाम्खा गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट लिनु पर्ने सेवाहरू एकदेखि दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएर लिनु पर्ने बाध्यता भएको छ । सिमकोटको कार्यालय बन्द गरेर तत्काल गाउँपालिकाको केन्द्र यालवाङ्मा कार्यालय राख्नु सेवाग्राही दावा छिरिङ तामाङले माग गर्नुभयो । 

योजनाको सिफारिस गर्न, सम्झौता गर्न, भुक्तानी लिन हाल सेवाग्राहीले सदरमुकाम धाउनु पर्दा भौतिक कष्ट र आर्थिक रूपमा समेत भार भोग्नु परेको उहाँको भनाई छ । सेवाग्राहीको माग बारे बोल्दै गाउँपालिका अध्यक्ष प्रेम लामाले बाध्यता र परिस्थितिले गर्दा अहिले सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालय काम गर्नु परेको बताउँदै पन्छिएका छन् ।