सियोल, चैत २६ गते । उत्तर कोरियाले पछिल्लो हतियार परीक्षणमा क्लस्टर-बम वारहेड जडित ब्यालेस्टिक मिसाइल प्रयोग गरेको दाबी गर्दै आफ्नो सैन्य क्षमता थप आक्रामक ढङ्गले विस्तार गरिरहेको सङ्केत दिएको छ । यस कदमले दक्षिण कोरियामाथि दबाब बढाउने मात्र नभइ, कोरियाली प्रायद्वीपमा तनाव अझ चर्काउने देखिएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार सोमबारदेखि सुरु भएको तीन दिने परीक्षण क्रममा विभिन्न नयाँ हतियार प्रणालीको प्रदर्शन गरिएको थियो । यसमा विमानविरोधी प्रणाली, कथित विद्युत् चुम्बकीय हतियार तथा कार्बन फाइबर बमसमेत समावेश गरिएको उल्लेख छ । विशेषगरी आणविक क्षमता बोकेको ह्वासोङ–११ ब्यालेस्टिक मिसाइलमा जडान गरिएको क्लस्टर वारहेड प्रणालीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।
यो जानकारी दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले दुई दिनभित्रै दोस्रो चरणको प्रक्षेपणमा पूर्वी तटीय क्षेत्रबाट बहुविध क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको एक दिनपछि सार्वजनिक भएको हो । दक्षिण कोरियाको संयुक्त सेना प्रमुखको कार्यालयका अनुसार ती मिसाइल २४० देखि ७०० किलोमिटरसम्म उडेका थिए र समुद्रमा खस्नु अघि विभिन्न दूरी तय गरेका थिए । कम्तीमा एउटा प्रक्षेपण प्योङयाङ नजिकबाट गरिएको पुष्टि गरिएको छ ।
जापानको रक्षा मन्त्रालयले भने यी प्रक्षेपण आफ्नो विशेष आर्थिक क्षेत्रभित्र नपरेको जनाएको छ । त्यस्तै, अमेरिकी सेनाले पनि ती परीक्षणले तत्कालका लागि अमेरिका वा उसका सहयोगी राष्ट्रलाई प्रत्यक्ष खतरा नदेखिएको प्रतिक्रिया दिएको छ । उत्तर कोरियाली दाबी अनुसार, क्लस्टर वारहेड जडित छोटो दूरीका मिसाइलले ६.५ देखि ७ हेक्टर क्षेत्रभित्रका लक्ष्यलाई ‘उच्च घनत्वको आक्रमण’ मार्फत पूर्णरूपमा ध्वस्त पार्न सक्ने क्षमता राख्छन् ।
यस्तो डिजाइन रूसी इस्कान्डर मिसाइल प्रणालीसँग मिल्दोजुल्दो रहेको पनि जनाइएको छ, जसले मिसाइल प्रतिरक्षा प्रणाली छल्ने उद्देश्य राख्छ । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखका प्रवक्ता जाङ डोयङले भने यी प्रक्षेपणको विस्तृत विश्लेषण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अमेरिका र जापानसँग समन्वय गरी सूचना आदानप्रदान भइरहेको छ, तर उत्तर कोरियाले दाबी गरे अनुसारको प्राविधिक प्रगतिको स्तरबारे तत्काल निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको बताउनुभयो ।
यी गतिविधिले उत्तर र दक्षिण कोरियाबिचको सम्बन्ध थप चिसिएको सङ्केत दिएका छन् । प्योङयाङले सियोलको वर्तमान सरकारप्रति कटु टिप्पणी गर्दै आफूहरूका लागि दक्षिण कोरिया ‘सबैभन्दा शत्रुतापूर्ण राष्ट्र’ नै रहने दोहोर्याएको छ । उत्तर कोरियाका विदेश मन्त्रालयका प्रथम उपमन्त्री जाङ कुम चोलले वार्ता पुनः सुरु गर्ने प्रयासलाई व्यङ्ग्य गर्दै कडा अभिव्यक्ति दिनुभयो ।
उत्तर कोरियाली नेता किम जोङ-उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि वासिङ्टन र सियोलसँगको कूटनीतिक संवाद प्रायः बन्द गर्नुभएको थियो । त्यसयता उहाँले आणविक क्षमता भएका मिसाइलको विकासलाई तीव्र बनाउँदै अमेरिका र उसका सहयोगीलाई लक्षित रणनीति अघि बढाइरहनुभएको छ ।
यसै क्रममा, उत्तर कोरियाले आफ्नो कूटनीतिक पहुँच विस्तार गर्ने प्रयास पनि जारी राखेको छ । सरकारी सञ्चार माध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि बिहीबार प्योङयाङ पुग्ने कार्यक्रम रहेको छ, जसलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । रासस/एपी