• १६ चैत २०८०, शुक्रबार

झरझरा खोलामा पुल बनेपछि सहज

blog

सर्लाही समाचारदाता   

सर्लाही, मङ्सिर २० गते । सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिका–१५, स्थित झरझरा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई खोला वारपार गर्न निकै सहज भएको छ। 

लालबन्दी नगरपालिकाको झण्डै ७८ लाख रुपियाँ लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो। बर्सेनि बर्खायाममा ठूलो बाढी आउँदा ओहोरदोहोर गर्नै असहज हुने मूल सडकको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका हुन्। पुल बनेसँगै परवानीपुर चोक हुँदै धुसेनी, झरझरा, भूमरा, देउरालीलगायतका गाउँका स्थानीयलाई राहत मिलेको स्थानीय बासिन्दा कुलबहादुर बोम्जनले जानकारी दिनुभयो। पुल नहुँदा झरझरा खोलाले बर्सेनिजसो मान्छे बगाउने गरेको थियो। नवनिर्मित पुलबाट सहज रूपमा सवारी सञ्चालन भइरहेका छन्। “वर्षायाम भर बाढीमा हेलिएर खोला तर्नुपर्थ्यो, त्यसरी खोला तर्दा बगाएर धेरैको मृत्यु भइसकेको छ,” बोम्जनले भन्नुभयो, “अब भने त्यो समस्याबाट मुक्ति पाएका छौँ।”

लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले वर्षायाममा बाढीमै हेलिएर वारपार गर्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य गर्न पुल निर्माण गरिएको बताउनुभयो। जनप्रतिनिधि निर्वाचित भएर आएदेखि गाउँमा विकास निर्माणका कामले गति लिन थालेपछि परवानीपुरका बासिन्दा खुसी भएका छन्। हाल रानीगञ्ज हुँदै परवानीपुरसम्म जाने मूल सडकमा कालोपत्रेको काम समेत पूरा भइसकेको छ।