• १६ चैत २०८०, शुक्रबार

सडकमै फालिन्छ ल्याबको फोहोर

blog

ललिता साह

बोदेबर्साइन (सप्तरी), मङ्सिर २० गते । सप्तरी सदरमुकाम राजविराजमा अव्यवस्थित, दुर्गन्धित र शौचालयबिना ल्याबहरू सञ्चालन गरिएको छ। 

महदेवा गाउँपालिका–४ का नजवुन खातुन बिरामी नातीको दिसा जाँच गराउन सोमबार बिहानै मङ्गलम डायग्नोस्टिकमा पुग्नुभएको थियो। डाक्टरले दिसा जाँच गराउन लगाएपछि उहाँ ल्याबमा पुग्नुभएको थियो। उहाँले जाँच गराउन गएको ल्याबमा शौचालय नहुँदा ल्याब अगाडिकै सडकमा उहाँले नातीलाई दिसा गराइरहनुभएको थियो। उहाँले ल्याबमा ट्वाइलेट नभएर बच्चालाई यहाँ दिसा गराउन लागेको सुनाउनुभयो। 

यहाँ धेरै ल्याबहरू यसैगरी चल्ने गरेका छन्। राजविराजको अति व्यस्त मुख्य सडकदेखि पाँच मिटरभित्र ल्याब छ। योसँगै ऐनसेल सेन्टर, बैङ्क शाखाहरू, होटलहरू र अन्य थुप्रै ठूलठूला व्यवसाय पनि सञ्चालन रहँदै आएका छन्। यो ल्याबमा दैनिकजसो आउने गरेका 

सयौँ सेवाग्राहीहरूमध्ये अधिकांशले ल्याब अगाडिको सय मिटर लामो सडकमा दिसापिसाब गर्छन्। ल्याबटेस्टका लागि ल्याइएका बालबालिकालाई ट्वाइलेट उपलब्ध नगराउँदा ल्याबटेस्टका लागि ल्याइएका बालबालिकालाई सडकमै दिसापिसाब गराउँदै गरेको दृश्यहरू देख्न पाइन्छ। 

ल्याबबाट निस्किने दिसापिसाब जस्ता दुर्गन्धित फोहोरहरू समेत सडकमै फाल्ने गरिन्छ। नाम नबताउने सर्तमा त्यहीँका एक पसल सञ्चालकले यो कुरा खुलाउनुभयो। 

ल्याब सञ्चालक डाक्टर अमित शाहले ल्याबभन्दा अलिपर शौचालय रहेको बताउनुभयो। उहाँले साँचो दिएर ल्याबमा आउने सेवाग्राहीलाई ट्वाइलेट पठाउने गरेको दाबी गर्नुभयो। 

राजविराजमा दर्जनभन्दा बढी ल्याबहरू शौचालय नभएको अवस्थामा सञ्चालन भइरहेका छन्। यसले सहरलाई नै दुर्गन्धित बनाएको छ। दुर्गन्ध र फोहोरले मानिसको स्वस्थ्यमा असर पुगेको स्थानीय दिनेश यादवले बताउनुभयो।