• १६ चैत २०८०, शुक्रबार

भारतीय सवारीलाई नेपालमा प्रवेश निःशुल्क

blog

आइतबारदेखि प्रवेश पाएका भारतीय सवारीहरु पूर्वी सीमावत्र्तीबजार इलामको पशुपतिनगरमा । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, मङ्सिर १९ गते । कोभिड सुरु भए यता बन्द भएको सवारी आवागमन पूर्वी सीमावर्ती बजार पशुपतिनगरमा पुनः सुरु भएको छ । भारतीय नम्बर प्लेटका सवारी आउन थालेपछि भारतीय पर्यटकको भरमा चलेको पशुपतिनगर बजारको आर्थिक कारोबार सहज हुने अपेक्षा स्थानीय व्यावसायीहरुले गरेका छन् । 

भन्सार ऐनमा ‘नजिक बजारमा पहुँच दिने’ व्यवस्था अनुसार पुनः भारतीय गाडीहरू पशुपतिनगर बजारसम्म आउन थालेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । ‘पुरानै व्यवस्था अनुसार सुविधा पास लिएर भारतीय सवारी प्रवेश गर्छन् । भारतीय पर्यटकहरू घुमेर फर्कन्छन्’ प्रजिअ ढुङ्गानाले भन्नुभयो, ‘पशुपतिनगरदेखि बाहिर नेपाली भूमिमा आउने सवारीले नेपाल सरकारलाई भन्सारमा केही शुल्क तिर्छन्, पास लिन्छन् आउँछन् ।’ 

यसरी आउने सवारीले सुविधा पास लिएपछि पशुपतिनगर बजारभरि मात्र रहन पाउँछन् । प्रजिअ ढुङ्गानाले काँकडभिट्टा लगायत अन्य सीमा नाकामा भारतीय सवारीको प्रवेश यसअघि सुरु भइसकेको बताउनुभयो । 

भारतीय पर्यटकको भरमा रहेको पशुपतिनगर बजारमा भारतीय सवारीले प्रवेश पाएसँगै आर्थिक कारोबार पनि केही सहज हुने आशा पलाएको सूर्योदय नगरपालिका स्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो । ‘कोभिड नियन्त्रणका लागि तीन वर्ष अघिदेखि भारतीय सवारी बन्द गरिँदा यहाँका धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गरेर हिँडेको अवस्था थियो । 

भारतीय पर्यटकहरू आउँदा व्यवसायमा सहज हुने अपेक्षा स्थानीयको रहेको छ । राईले भन्नुभयो, ‘हिजो र आज दुई दिनमै ४५–५० भारतीय सवारी लिएर पशुपतिनगर आएका छन् ।’ पर्यटकीय सिजन सुरु भएकाले पनि भारतीय नागरिकहरू नेपाल–भारत सीमावर्ती क्षेत्र सन्दकपुर घुमेर फर्कनेहरू पशुपतिनगर बजार आए मात्र भारततर्फ जानेगरेका छन् ।