भाइबहिनीहरू, निर्वाचन हुँदैछ भनेर सुनेका नै छौ होला । हो, हामीकहाँ मङ्सिर ४ गते हुँदैछ । यस पटक प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन लागेको हो । यो निर्वाचनमा एक जना व्यक्तिले चारवटा मतपत्रमा मत दिनुपर्छ । पहिलो मतपत्रमा प्रतिनिधि सभाका सदस्य उम्मेदवारलाई मत दिनुपर्छ । यसरी हामीले दिएको मतबाट प्रतिनिधि सभामा १६५ जना सांसद चुनिएर आउँछन ।
अर्को मतपत्रमा भने प्रतिनिधि सभाका लागि समानुपातिक प्रणालीको मत दिनुपर्छ । यो दललाई दिने मत हो । अर्को पत्रमा प्रदेशका सभासद् व्यक्तिलाई मत दिने हो । यसमा सात प्रदेशमा ३३० जना सांसद चुनिएर आउँछन् ।
अर्कोमा प्रदेशका लागि दललाई समानुपातिकको मत दिने हो । उम्मेदवार भनेको व्यक्ति हो । व्यक्तिलाई दिने मतले व्यक्तिको जित वा हार हुन्छ । यसलाई प्रत्यक्ष निर्वाचन भन्छन् । यसमा धेरै मत ल्याउने एक जनाले जित्छ । दलहरूलाई मत दिने व्यवस्थालाई समानुपातिक निर्वाचन प्रणाली भनिन्छ । यसमा दलले ल्याएको मतका आधारमा उसका उम्मेदवारलाई निर्वाचित (मनोनीत) गरिन्छ । नेपालले दुईवटा निर्वाचन प्रणाली लागू गरेको छ, प्रत्यक्ष र समानुपातिक । यसलाई मिश्रित निर्वाचन प्रणाली भनिन्छ ।
यो निर्वाचनपछि केन्द्र (सङ्घ) र प्रदेशमा सरकार बनाउने काम अघि बढ्छ । निर्वाचन आफ्ना प्रतिनिधि छान्ने काम हो । हरेक मतदाताले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख छान्ने प्रक्रिया यही निर्वाचनबाट सुरु हुन्छ । सबै मतदाता उपस्थित भएर उहाँहरूलाई छान्न नसक्ने भएकाले मेरो सट्टा तपाईंले राष्ट्रपतिलगायतका पदाधिकारी छानिदिनु होला भनेर हामीले हाम्रा प्रतिनिधिलाई निर्वाचनमा जिताउने हो । निर्वाचन एउटा निर्णय हो । यो सामूहिक निर्णय हो तर व्यक्तिगत इच्छामा निर्णय गर्न पाइन्छ ।
नेपालमा प्रजातान्त्रिक व्यवस्था छ । प्रजातन्त्रमा जनताले आफ्ना लागि आफैँ शासन गर्छन् । यस निम्ति आफ्ना प्रतिनिधिलाई छानेर पठाउनु नै निर्वाचन हो । इसा जन्मनुभन्दा ७५४ वर्ष पहिला अर्थात् आजभन्दा दुई हजार ७७६ वर्षअघि विश्वमा पहिलो पटक दक्षिणी ग्रिसको स्पार्टा सहरमा निर्वाचन भएको मानिन्छ । यो निर्वाचनमा सबै जनताले मत दिन पाउँथे । सबै उम्मेदवार हुन सक्थे । यिनैमध्ये पाँच जना त्यहाँका ठूला सरकारी कार्यालयका उच्च कर्मचारीमा छानिन्थे, जसले त्यहाँका राजाको काममा सहयोग र नियन्त्रण गर्थे । ग्रिस दक्षिण–पूर्वी युरोपमा रहेको एक देश हो ।
निर्वाचन गराउने प्रमुख काम निर्वाचन आयोगको हो । उसले मतदाताको नामावली तयार गर्छ, निर्वाचको कार्यतालिका बनाउँछ, निर्वाचनमा कसले कति मत ल्यायो, को जित्यो को हा¥यो भन्ने सबै काम आयोगले गर्छ । सरकारले आवश्यक सबै व्यवस्था मिलाउँछ । निर्वाचन खर्च दिन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागले सुरक्षाको प्रबन्ध गर्छन् । तोकिएका कर्मचारीले निर्वाचनको प्रशासनिक काममा सहयोग गर्छन् ।
नेपालमा धार्मिकालदेखि गाउँका मुखियाहरू जनताको भेलाबाट छानिन्थे । कतिलाई राजाले नियुक्त गर्थे । नेपालमा वि.स. १९८७ तिर घरमुलीले निर्वाचनमा भाग लिएर मुख्य पञ्च र अन्य पञ्च छानेका थिए भनेर इतिहासमा लेखिएको छ । यसमा १८ वर्ष पुगेका सबै नागरिकले मत दिन पाउँदैनथे । घरमुलीले मात्र मत दिन पाउने भएकाले महिलाले पनि मत दिन पाउँदैनथे भन्ने अनुमान गर्न सकिन्छ । नेपालमा २००७ मा प्रजातन्त्र आएपछि २०१५ साल फागुन ७ गतेदेखि संसद्का लागि निर्वाचन भयो । यो नै नेपालमा बालिग मताधिकारको आधारमा भएको पहिलो निर्वाचन हो । बालिग मताधिकार भनेको मत दिने उमेर पुगेका मानिस भन्ने बुझिन्छ । नेपालमा १८ वर्ष पुगेपछि मतदान गर्न पाइन्छ, अर्थात् बालिग मताधिकार भइन्छ ।
नेपाली नागरिकले २५ वर्ष पुगेपछि प्रतिनिधि सभाको उम्मेदवार हुन पाउँछ । नेपालको प्रतिनिधि सभामा २७५ जना सदस्य रहन्छन् । नेपाललाई १६५ निर्वाचन क्षेत्रमा विभाजन गरी १६५ एक–एक जना ती निर्वाचन क्षेत्रबाट धेरै मत ल्याएर विजयी हुन्छन् । अरू ११० जना दलले देशभरिबाट पाएको समानुपातिक मतका आधारमा दलहरूलाई भाग लगाई निर्वाचित (मनोनीत) गर्न दिइन्छ । दलहरूद्वारा यस्ता समानुपातिकका उम्मेदवारको नामावली तयार गरी खामबन्दी गरी निर्वाचनभन्दा पहिले नै निर्वाचन आयोगमा बुझाइएका हुन्छन् । यसलाई बन्दसूची भनिन्छ ।
यस्तो सूचीमा महिला, जनजाति, मधेसी, दलित, दुर्गम क्षेत्र खस आर्य, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायबाट नाम राख्नुपर्छ । निर्वाचनपछि यी सबै समुदायका सदस्य प्रतिनिधि सभा र प्रदेश सभामा सदस्य हुन पाउँछन् । यसरी नेपालको प्रतिनिधि सभा र प्रदेश सभामा महिला, जनजाति, मधेसी, दलित, दुर्गम क्षेत्र खस आर्य, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायको सहभागिता हुने भएकाले नेपालमा समावेशी शासन पद्धति छ भनिन्छ । यसलाई इन्द्रेणी शासन व्यवस्था पनि भन्न सकिन्छ । इन्द्रेणीका विभिन्न रङजस्तै नेपालमा विभिन्न जात तथा समुदायको समावेशिताले देशको साशन पद्धतिलाई रङ्गीन र सुन्दर बनाएको छ ।