• १५ चैत २०८०, बिहिबार

पोल्यान्डलाई फ्रान्सले कमजोर नठान्ने

blog

दोहा, मङ्सिर १८ गते । विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आइतबार पोल्यान्डविरुद्ध खेल्दै छ। फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याँले पोल्यान्डलाई कमजोर नठान्न आफ्ना खेलाडीलाई चेतावनी दिनुभएको छ।

सन् १९८६ पछि फ्रान्सले अहिलेसम्म खेलेका पाँच प्रिक्वाटरफाइनल खेलमा हारेको छैन। तर यो विश्वकप अहिलेसम्म अन्डरडग टिमको प्रतियोगिताका रूपमा अगाडि बढिरहेको छ। त्यसैले पनि प्रशिक्षक डिडियरले आफ्ना खेलाडीलाई सतर्क गराउनुभएको हो। पछिल्ला सात खेलमा फ्रान्सले पोल्यान्डसँग हार बेहोरेको छैन। तर प्रशिक्षक डिडियर भन्नुहन्छ, “पोल्यान्डको टिममा अहिले अनुभवी खेलाडीको जमात छ। विश्वकै सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक (रोवर्ट) लेवान्डोस्की हुनुहुन्छ। हामी पोल्यान्डको खेलको गहन अध्ययन गर्दै छौँ। पोल्यान्डलाई कमजोर सम्झेका छैनौँ।”

समूह ‘डी’अन्तर्गत पछिल्लो खेलमा ट्युनिसियासँग १–० ले अप्रत्याशित हार बेहोरेकाले पनि फ्रान्स चिन्तित छ। हुन त सुरुका दुई खेल जितेर नकआउट प्रवेश पक्का भइसकेकाले सो खेलमा किलियन एमबापे, ओलिभर जिरु, ह्युगो लोरिस, ओसमान डेम्बेले र एन्टोनियो ग्रिजम्यानलाई आराम दिइएको थियो। 

पोल्यान्डका लागि प्रमुख खतरा नै एमबापे र जिरु हुनेछन्। एमबापेले चालू प्रतियोगितामा तीन गोल गरिसक्नुभएको छ। जिरु फ्रान्सका सर्वाधिक गोलकर्ता बन्नबाट एक गोल मात्र टाढा हुनुहुन्छ। पोल्यान्ड समूह ‘सी’को अन्तिम खेलमा अर्जेन्टिनासँग २–० ले हारे पनि समूह उपविजेताको हैसियतमा अगाडि बढेको हो।

इतिहास हेर्ने हो भने विश्वकपमा पोल्यान्डले उपाधि अभियानमा रहेको टिमसँग यसअघि दुई पटक खेलेको छ र दुवै पटक हार बेहोरेन। सन् १९७४ मा पोल्यान्डले ब्राजिललाई १–० ले हराएको थियो भने चार वर्षपछि जर्मनीलाई बराबरीमा रोकेको थियो।

इङ्ग्ल्यान्ड–सेनेगल

विश्वकप फुटबल प्रतियोगितामा आइतबार सेनेगलविरुद्ध प्रिक्वाटरफाइनलमा खेल्ने इङ्ग्ल्यान्डलाई जितको दाबेदार मानिएको छ। समूह ‘बी’ सजिलै जितेपछि इङ्ग्ल्यान्ड अब अफ्रिकी च्याम्पियन सेनेगललाई पन्छाएर फ्रान्स अथवा पोल्यान्डमध्ये एकविरुद्ध क्वाटरफाइनल भिडन्त गर्ने दाउमा छ। समूह ‘ए’मा सेनेगलले आफ्नो क्षमता देखाइसकेको छ। बायर्न म्युनिखका सुपरस्टार साडियो मानेबिना पनि सेनेगल समूह उपविजेता बनेर प्रिक्वाटरफाइनलमा पुगेको हो।

हालको समयमा इङ्ग्ल्यान्डको प्रमुख प्रतियोगितामा प्रदर्शन प्रशंसालायक छ। सन् २०१८ को विश्वकपमा अन्तिम चारमा पुगेको इङ्ग्ल्यान्ड गत वर्ष भएको युरो च्याम्पियनसिपको फाइनलमा इटालीसँग टाइब्रेकरमा हारेपछि मात्र च्याम्पियन बन्नबाट वञ्चित भएको थियो। त्यसैले पनि इङ्ग्ल्यान्डलाई यस विश्वकपमा लामो यात्रा गर्ने टिमका रूपमा लिइएको छ। यद्यपि सन् २००२ र २००६ पछि इङ्ग्ल्यान्डले लगातार दुई संस्करणको क्वाटरफाइनलमा स्थान बनाएको छैन। इङ्ग्ल्यान्डलाई हराएमा सेनेगलले पहिलो पटक विश्वकपमा लगातार तीन जितको गौरव हासिल गर्नेछ। एजेन्सी