• १६ चैत २०८०, शुक्रबार

मधेश प्रदेशमा समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो दल

blog

मतपत्र गणना गर्दै गणक। तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, मङ्सिर १६ गते। मधेश प्रदेशमा समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले दोस्रो  दल बनेको छ। 

पहिलो पटक निर्वाचन प्रणालीमा सहभागी जनमत पार्टी तेस्रो स्थानमा छ। अघिल्लो निर्वाचनमा प्रदेशको पहिलो पार्टी बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने चौथो स्थानमा झरेको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन्। 

निर्वाचन आयोगका अनुसार छ अङ्कको मत पाउने दलको सङ्ख्या सात छ। समानुपातिकतर्फ नेपाली कांग्रेस चार लाख १४४, एमाले तीन लाख ५१ हजार ७६८, जनमत पार्टी तीन लाख २९ हजार १७७, जसपा दुई लाख १८ हजार ७७४, माओवादी एक लाख ८० हजार ८६०, नेकपा (एस) एक लाख १३ हजार ९१५ र लोसपा एक लाख १३ हजार ३६४ मत प्राप्त गरेको छ।

यसैगरी, पाँच अङ्कको मत प्राप्त गर्ने दलको सङ्ख्या ६ छ। यसभित्र राष्ट्रिय प्रजातन्त्र पार्टी ६५ हजार ५४, नेपाल सङ्घीय समाजवादी पार्टी नेपाल ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टी ४९ हजार ७५०, बहुजन एकता पार्टी नेपाल २० हजार ३२४, नेपाल आमा पार्टी ११ हजार ५०९, हाम्रो नेपाली पार्टी ११ हजार ३९८ मत प्राप्त गरेका छन्। मधेश प्रदेशमा समानुपातिकमा ३६ दल सहभागी भएकोमा अन्य २२ दलले चार अङ्कको मत पाएका छन्। 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मधेश प्रदेशमा प्रत्यक्षतर्फको मतगणना सकिएको  र समानुपातिक मतगणना सकेर प्रमाणीकरणको काम भइरहेको बताउनुभयो। समानुपातिकतर्फ प्रदेशमा २० लाख ८६ हजार २९८ मत सदर भएको उहाँको भनाइ छ।