• ८ वैशाख २०८१, शनिबार

तम्घास बजारका अव्यवस्थित तार हटाइने

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १६ गते । गुल्मीको तम्घास बजारलाई सुन्दर बनाउन रेसुङ्गा नगरपालिकाले काम सुरु गर्ने भएको छ । सदरमुकाम तम्घास बजारको सुन्दरतालाई कुरूप बनाइरहेको अव्यवस्थित तारलाई व्यवस्थापन गरी सुन्दर नगरपालिका बनाउने उद्देश्यले रेसुङ्गा नगरपालिका अगाडि बढेको हो ।

शुक्रबार बिहानै नगरप्रमुख खिलध्वज पन्थीले आफ्नो कार्यकक्षमा जिल्लामा रहेका नेपाल टेलिकम तथा विभिन्न केबुल र अन्य नेट–इन्टरनेटका सेवा प्रदायक निकायका प्रतिनिधिसँग संयुक्त रूपमा छलफल गरी अव्यवस्थित पोलमा झुण्ड्याइएका तारलाई हटाउन निर्देशन दिनुभयो । 

अहिले तम्घास बजारमा ११ मिटर अग्लो विधुत पोलहरू गाडिएको छ । १८ गतेदेखि सो पोलमा विधुत प्राधिकरणले तार जडान गर्ने भएको छ । सेवा प्रदायक निकाय सबैले अन्तरसमन्वयमा टेलिकम, केबुल र नेटका तारहरू व्यवस्थित गर्ने नगरप्रमुख पन्थीले बताउनुभयो । पोलमेनको सहयोगमा समूह बनाएर संयुक्त रूपमा काम गर्ने सहमति भएको पन्थीको भनाइ छ । 

“बजारमा सडकहरू तुरुन्त पक्की गर्ने काम सुरु गरिनेछ” उहाँले भन्नुभयो, “मैले ताकेता गरेपछि सडक पीचको आवश्यक सामग्री खरिदमा लगिएको छ ।” नगरपालिका भित्र रहेको तम्घास बजारको सुन्दरतालाई बढाउन टोल सुधार समितिलाई सक्रिय बनाउने उहाँले बताउनुभयो । 

त्यस्तै, नगरप्रमुख पन्थीले काम गर्ने सन्दर्भमा धेरै प्रक्रियामुखी भएकै कारण नागरिकका निराश बढाएको बताउनुभयो । “सुन्दर, सफा, सहर बनाउने हामी सबैको दायित्व हो । समृद्ध नगरपालिका बनाउन, बजार व्यवस्थापन गर्नुपर्छ । दिगो विकासको लक्ष्यमा सरसफाइ महत्त्वपूर्ण सूचक हो ।” 

आफूले कर्तव्य पूरा गरेपछि मात्र अरूलाई प्रश्न गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम र कर्तव्य पूरा गरेपछि बल्ल अरूलाई प्रश्न गरौँ ।” नगरपालिकालाई समृद्ध र सुन्दर बनाउन गैर सरकारी संस्थासँग समन्वय गरी काम गर्न नगरपालिका तयार रहेको उहाँको भनाइ छ ।