• १४ वैशाख २०८१, शुक्रबार
blog

काठमाडौँ, मङ्सिर १५ गते । मङ्सिर २२ देखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण सुरु हुने भएको छ । 

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित चलचित्र ‘बाघको बङ्गारा’को प्रिमियर गरिएको थियो । ‘हेर्ने कथा’की सञ्चालिका विद्या चापागाईँले चलचित्रलाई निर्माण गर्नुभएको हो । 

जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भीरमा चढेर गर्ने मह सिकारको कथा चलचित्रमा देखाइएको छ । चलचित्रले बाहिर बेच्नका निम्ति अक्करे भीरमा चढेर महको सिकार गर्ने हिमाली भेगका बासिन्दाले गरेको दुःख र मेहनतलाई चलचित्रमा चित्रण गरेको छ । 

मङ्सिर २२ देखि २६ सम्म आयोजना हुने फेस्टिभलको पहिलो दिन ‘बाघको बङ्गारा’ प्रिमियर हुनेछ । फेस्टिभलको समापन भने अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने कथावस्तु बोकेको चलचित्र ‘फ्लाई फ्रेम एभरेस्ट’बाट हुनेछ ।

पत्रकार सम्मेलनमा बिहीबार भारतीय निर्देशक एम गनी निर्देशित चलचित्र ‘माट्टोकी साइकिल’ ट्रेलर देखाइएको थियो । बलिउड अभिनेता प्रकाश झाको अभिनय रहेको चलचित्रले एउटा साइकलले किसानको जीवनमा आउने उतारचढावको कथा बताउँछ । 

किम्फमा यो वर्ष ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा यस पटक दुई दर्जन अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् । यस पटक भौतिक रूपमै चलचित्र देखाउने तयारी छ । 

फेस्टिभलबाहेक यस पटक विभिन्न मुलुकका पर्वतीय फिल्म महोत्सवहरूको अलायन्स (आईएएमएफ)को साधारण सभा पनि काठमाडौँमा हुनेछ । 

उक्त सङ्गठनका २८ सदस्य राष्ट्रको सहभागिता सभामा हुने जानकारी किम्फले दिएको छ । किम्फ आयोजकका रूपमा हिमाल एसोसिएसन छ भने सह–आयोजकमा काठमाडौँ महानगरपालिका छ ।