• १४ वैशाख २०८१, शुक्रबार

निटफेस्टमा नाटक ‘पल्पसा क्याफे’ विमोचन

blog

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौँ दिन श्रीलङ्का र भारतका नाटक मञ्चन भएका छन् । भारत र श्रीलङ्काका दुई नाटक र पल्पसा क्याफे नाटकको पुस्तक विमोचन र साङ्गीतिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट (२०२२) छैटौँ दिनको कार्यक्रम आयोजना भएको छ ।

बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रूपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको हो । विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रूपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गर्नुभएको थियो । कवि पराजुलीको रोचक प्रस्तुतिलाई दर्शकले रुचिपूर्वक ग्रहण गर्नुभएको थियो ।

उपन्यासलाई नाटकका रूपमा पुनर्लेखनको अनुभव सुनाउँदै सुरज सुवेदीले भन्नुभयो,  “मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको छु, कतिपय पात्रको भूमिकालाई ‘रिभर्स’समेत गरेको छु ।” 

उहाँले थप प्रस्ट्याउनुभयो, “झन्डै दुई दशकअघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदा अझ भनौँ एउटा उपन्यासलाई नाटकमा रूपान्तरण गर्दा यो पुस्तक उपन्यास जस्तै भने छैन ।” लेखक सुरजले उपन्यासलाई नाट्य रूपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको पनि उल्लेख गर्नुभएको थियो ।

यस्तै महोत्सवमा इटालीको इभान होस्टिङ निर्देशित नाटक ‘स्याडो लिबेरेसन’को मञ्चन भएको थियो । छाया नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तर्क्रियामा आधारित अभ्यासहरूको उपयोग गर्दै छाया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ ।

‘स्याडो लिबेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन भयो भने दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलङ्काको नाटक ‘राजा मन बहला’ मञ्चन भएको थियो । 

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । सबै पात्रले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम बीसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो ।