• १२ साउन २०८१, शनिबार

प्रदेश सभातर्फ राप्रपा ११ स्थानमा विजयी

blog

काठमाडौं, मङ्सिर १४ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभातर्फ ११ स्थानमा विजयी हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार राप्रपा प्रतिनिधि सभामा सात र प्रदेश सभातर्फ ११ स्थानमा विजयी भएको हो ।

आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नं. ४ को प्रदेश सभा (ख) मा राप्रपाका उम्मेदवार भक्तिप्रसाद सिटौलाले १९ हजार ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७२ मत ल्याउनुभएको छ ।

यसैगरी, काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को प्रदेशसभा (क) मा राप्रपाका राजेन्द्र प्रजापति चार हजार ३०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भैरव सापकोटाले तीन हजार ८८७ मत ल्याउनुभएको छ ।

त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं. ९ को प्रदेश सभा (क) मा राप्रपाका उम्मेदवार नुरज बज्राचार्य चार ६५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण डंगोलले चार हजार ५५२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) मा राप्रपाका उम्मेदवार आशिषकुमार चौधरी १७ हजार ७९६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवले १४ हजार ६५९ मत प्राप्त गर्नुभएको छ ।

साथै, कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को (ख) मा राप्रपाका जानकीप्रसाद यादव आठ हजार ५८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रजाउर्रहमान खाँले सात हजार ७९ मत ल्याउनुभएको छ ।

त्यस्तै, धादिङ २ को (ख)मा राप्रपाका डम्बर तामाङ, चितवन ३ को (क) मा गिरबहादुर तामाङ, झापा १ (ख) मा सबिन बजगाईँ, काठमाडौं ८ (ख) मा उद्धव थापा, काठमाडौं २ (क) मा सुनिल केसी र (ख) मा राजु विट विजयी हुनुभएको छ ।