गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २२ गते । समाज कल्याण परिषद्ले भृकुटीमण्डपको भवन, जग्गा र प्रदर्शनी स्थल प्रयोग गरेबापतको बक्यौता कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले उठाउने भएको छ । परिषद्ले बारम्बार ताकेता गर्दासमेत बक्यौता उठाउन नसकेपछि विभिन्न ५१ सङ्घ संस्थाको ६ करोड ८१ लाख ९६ हजार रुपियाँ उक्त कार्यालयले उठाउने भएको हो ।
समाज कल्याण परिषद्का सहायक निर्देशक खगनाथ रेग्मीले भृकुटीमण्डपको बक्यौता उठाउन कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयबाट उठाउने गरी टिप्पणी उठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुर्गा भट्टराई प्रमुख हुँदा तहसिल कार्यालयलाई उठाउन टिप्पणी तयार गरी केन्द्रीय कार्यालयमा पेस गरिसक्नुभएको छ । हामीले उठाउन धेरै प्रयास गर्यौँ, सकेनौँ । तहसिल कार्यालयले उठाएर राज्यको ढुकुटीमा जम्मा हुन्छ ।”
उहाँले आफूहरूले उठाउन नसके पनि कुमारी चोक तथा तहसिल कार्यालयले कानुनबमोजिम उठाएर राज्यको ढुकुटीमा जम्मा हुने भएकाले राज्यको सम्पत्ति कसैले दुरुपयोग गर्न नहुने बताउनुभयो । परिषद्को भृकुटीमण्डप कार्यालय प्रमुख भट्टराईले गत असार ९ गते कुल बक्यौता ६ करोड ८१ लाख ९६ हजार बुझाएको उहाँले बताउनुभयो ।
परिषद्ले गत चैत २१ गते सार्वजनिक सूचना जारी गरेर ५१ सङ्घ संस्था, व्यक्तिलाई बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । त्यतिबेला पर्यटन बोर्डले मात्रै कुल १० लाख ६७ हजार ९०३ रुपियाँ २८ पैसा बक्यौता दिने वचन दिएको थियो । अरू कुनै सङ्घ संस्थाले जवाफ दिएनन् ।
राजनीतिक पहुँचका भरमा समाज कल्याणको भृकुटीमण्डपको जग्गा, भवन, स्टल प्रयोग गरेर रकम नतिरेपछि बक्यौतालाई ब्याजमा जोडेपछि रकम बढ्दै गएको हो । बक्यौता ३० वर्षभन्दा बढी भएपछि कतिपयको मृत्यु भइसकेको छ भने कतिपय बक्यौता नतिरी फरार भएका छन् । बक्यौता उठाउन बाँकी नयाँभन्दा पुराना बढी भएकाले रकम असुल गर्न परिषद्लाई उत्तिकै सकस परेको छ ।