कल्पना प्रधान
वसन्तपुरको मानन्धर परिवारको चारतले घरमा डेरा गरी प्रसन्न मनले दिन बितिरहेका थिए । त्यस्तैमा एउटा नयाँ शिशु (कान्छो छोरा)को आगमन हुने भयो ।
त्यो बेला हाम्रो आफ्नो परिवार कोही पनि साथमा थिएनन् । अवस्था पनि निकै दयनीय थियो । आफन्तहरू सबै बलेको आगो मात्र ताप्ने रहेछन् । सधँै त्यो मानन्धरको घरमा पाहुनाको लर्कोे तर त्यो २०२६ सालमा पाहुना भने कोही थिएनन् । त्यस्तो अवस्थामा म प्रसूतिका लागि अस्पताल जान तयार भएँ बल्लतल्ल श्रीमान्जी कामबाट घरमा आइपुग्नुभयो । साँझ सबैले खाइसकेपछि मलाई सन्चो नभएको कुरा सुनाएँ । त्यो कुराले श्रीमान्को मनमा निक्कै दुःखपीडाहरू उम्लन थाले । जेठो छोरो प्रतीक काखमा थियो । उसलाई छाडेर हामी दुई जना वीर अस्पताल पुग्यौँ । त्यहाँ केके गर्नुप¥यो, मलाई थाहा भएन । उहाँले पनि आँखाभरि आँसु पार्दै भन्नु भयो– घरमा साना नानीहरू छन् तिमी बस है । म गएँ, भोलि छिट्टै आउँला ।
मैले टाउको हल्लाएँ । १०, ११ बजेतिर छोरालाई जन्म दिएँ । मसँग भएका केही रुपियाँ लिएर मेरा लागि खाना मिलाऊ भनेर सहयोगी दिदीलाई पठाएँ । १२ बजिसकेकाले सबै होटल बन्द रहेछन् । समय यस्तै प¥यो भन्दै म भोकले छटपटाउन थालेकी थिएँ । त्यही मौकामा एउटी बहिनी आइन् । जसलाई मेरा श्रीमान्ले हिँड्ने बेलामा भन्नुभएको थियो, ‘यो बहिनी हाम्रो भोजपुुर देउरालीकी हुन् । दुःख पर्दा यिनको मद्दत लिनू’ देउताजस्तै गरेर ती बहिनीलाई मनभित्र राखेँ । आपूmले गर्ने दुःख गरिरहेँ । श्रीमान् घर फर्कनुभयो ।
राति कताबाट ती बहिनी आएर भनिन्, भाउजू तपाईंको छोरा त भगवान्जस्तो छ । यसलाई छेउमा सुताउनु न, म यसलाई हेरेर आफ्नो रात कटाउँछु । मैले पनि त्यो बहिनीको कुरा सुनेर सकी नसकी बालकलाई ल्याएर छेउमा सुताएँ । उनले भनिन्– साँच्ची फुक्र्याको नठान्नु होला है भाउजू ।
मैले पनि जबाफ दिएँ, भगवान् हुनुभएको भए आमालाई भोकै तड्पाउनुहुन्न थियो होला । मेरो कुराले ती बहिनी मज्जाले हाँसिन् र कुरा थपिन् । साँच्ची भाउजू यो तपाईंको छोराको ज्योति पो छ त, हेर्नु त उठेर । बत्तीमा जस्तो चमक छ, यो बालकमा त्यस्तै चमक छ । म भोकाएकी र असक्त भएकी थिएँ । मलाई हाँस्न, बोल्न मनै थिएन । भित्तामा फर्केर सुतेँ । उसलाई भोक शान्त पारेर फेरि म छटपटाउन थालेँ । छटपटाउँदा छटपटाउँदै बिहानपख निदाएँछु । श्रीमान्ले अनेक कष्ट गरेर भात पनि पकाएर खाना बोकेर दौडँदै अस्पतालमा छोडी अफिस दौडनुभएछ ।
घरमा पाँच वर्षकी अबोध छोरी प्रतिमाको जिम्मामा भाइ र बहिनी थिए । प्रतिमा खेल्न र साथी भनेपछि हुरुक्कै हुन्थी । प्रतीक्षा भने घर र भाइ छोडेर कतै जान्नथी । सबैभन्दा सानो प्रतीक थियो । जेठी छोरी खेल्न मात्र चाहन्थी अरू कुराको त्यति मतलब थिएन । कान्छी प्रतीक्षा घर र भाइ कुरेर बस्थी, अन्त कतै जान मन गर्दिनथी । प्रतीक भने सानो भए पनि कडा मिजासको थियो ।
छोराछोरीको मिजास सम्झँदै अस्पतालको शय्यामा श्रीमान्को आगमनलाई पर्खेर बसेकी थिएँ । मनमा भने अनेक कुरा सोच्दै पनि थिएँ, त्यही मौकामा श्रीमान् अफिसबाट आउनुभयो र फूर्तिसँग भन्नुभयो– “आज साह्रै दुःख गरेर कुखुरा काटेर भात पकाएको थिएँ ।”
मलाई श्रीमान्का कुरा सुन्न पटक्कै मन थिएन । मैले खान नपाएको रातभर भोकले छटपटाएको कुरा सुनाउँदै रिसाउन मन थियो । तर मैले बोल्नै नपाई एक जना अपरिचित व्यक्ति त्यहाँ देखा पर्नुभयो । उहाँलाई देखेर म पनि थोरै शान्त भएको मुद्रामा बसेँ । मेरो मनमा दुःखका लहरहरू मजाले मौलाएर आएका थिए । म सतर्क जस्तै भएँ । श्रीमान्ले भन्नुभयो– “हाम्रो वासुशशी दाइ तिमीलाई भेट्न आउनुभएको छ ।” मैले पुलुक्क हेरेँ– निक्कै भलाद्मी सभ्य मान्छे रहेछन् वासुशशी दाइ, जस्तो मनमा लाग्यो । उहाँले जेरी किनेर ल्याइदिनुभएको थियो । मैले हात थापेर त्यो लिएँ । श्रीमान्ले आफ्नो दुःख सुनाउनुभयो । तर मैले एक वचन केही बोलिनँ । मलाई मान्छेका अगाडि बोल्न पनि मन लागेन, चुपचाप भएर बसेँ । मनमा भने दुःखपीडाको खातैखात जम्मा भएको थियो । त्यो देखाउने मौका मिलेन । दिनभर अरूका आफन्तहरू आउँथे, जान्थे, खान्थे, हाँस्थे । मेरो भने आफन्तको नाममा एउटा झिँगो पनि आएको थिएन । दिनभर म पनि मेरा आफन्तलाई सम्झँदै रुँदै नर्सहरूको गाली सहँदै बसेकी थिएँ । श्रीमान् आएपछि त्यो दुःख सबै पोखौँला भनेको एक शब्द नबोली “छोराछोरीहरू भोकाए होलान्, म घर गएँ” भन्दै मलाई छाडेर घर जानुभयो ।
मेरो मनको कुरा मनमै रह्यो । सुनाउन र देखाउन पाइनँ । मलाई खाना खान पटक्कै मन भएन । बिहान पकाएर ल्याएको खाना खोलेर पनि मैले हेरिनँ । दिउँसो १० बजे चन्द्रा श्रेष्ठ ओखलढुङ्गाकी मेरी छोरी प्रतिमालाई लिएर आउनुभएको थियो (उहाँ साहित्यकार कविताराम श्रेष्ठकी श्रीमती हुनुहुन्छ) । छोरीको मुख देखेर मलाई धेरै रुन मन लाग्यो । ऊ पनि मसँगै एकछिन रोई । रोइसकेपछि छोरीलाई फकाएँ– “राम्ररी बस । म भोलि आउँछु । यो मासुभात घरमा तिमीहरू खानू ।” आँखाभरि आँसु पार्दै ऊ घरमा (डेरामा) गई । मलाई शौच गर्न अति गाह्रो भएको थियो । नर्सहरू असल थिए तर पियनहरू असहयोगी थिए । त्यही पीरले पनि मलाई अस्पतालमा बस्न मन थिएन । त्यो बेलामा डा. हुनुहुन्थ्यो सावित्री गुरुङ । उहाँले भन्नुभएको थियो– “यो बेडका बिरामीलाई घर पठाउन हुँदैन । उसको शरीरमा ब्लड कम छ ।” त्यहाँ ककसले डाक्टर साहेबलाई हामी बिरामीको पोल लगाएछन् । डा. सावित्री गुरुङले नर्सलाई भन्नुभयो– “मुख सम्हालेर बोल केटी हो, यहाँ पत्रकारकी श्रीमती छन् । जागिर चट् होला, भोलि यी कुरा कसले कसलाई किन भन्छ ।” को होला पत्रकारकी श्रीमती ? यी दुष्ट केटीको जागिर पनि वास्तवमा चट् नै हुनुपर्ने जस्तो थियो, दुष्ट, दयामाया मनमा केही नभएका जस्तो मेरो मनमा लागेको थियो । भन्न पनि पत्रकार भनेको त मेरै श्रीमान्लाई भनेको रहेछ, पछि थाहा पाएँ । ती पियन बहिनीहरू भने निक्कै मात्तिएका, बिरामीको सेवामा पटक्कै मन नदिने त्यस्ता थिए । नर्सहरू भने राम्रै थिए । दुःखसुखका २ दिन बिताएँ । डाक्टरले त भन्नुभएको थियो– “अहिले घर जान मिल्दैन ।” तर मलाई ती पियन बहिनीहरूको नराम्रो व्यवहारले गर्दा त्यहाँ बस्न पटक्कै मन लागेन । आफ्नै डेरामा छोराछोरीहरूसँग खुसी भएर बसेँ । चार पाँच दिन सुख र खुसीसाथ परिवारसित बसेँ । त्यसपछि मलाई नसाको रोग लाग्यो । अनेक दुःख कष्ट पाएँ ।
म अस्पतालबाट आउँदा सबैभन्दा खुसी सानुमाया कार्की, प्रतीक्षा र साजन थिए । प्रतिमा पनि नयाँ भाइ लिएर आमा घरमा आउँदा फ¥याकफुरुक गर्दै किनमेल के–के गर्ने भन्दै कुद्ने गर्थी । सबैको चुरिफुरी देखेर म पनि फुरुङ्ग नै थिएँ । तर त्यो धेरै दिन टिकेन । म बिरामी भएर थलै परेँ । जानुका बिरामी छ भन्ने सुनेर मेरा फुपूसासूहरू मलाई हेर्न सबैजना आए । म अगाडिको कोठामा सुतेकी थिएँ । उहाँहरूलाई पनि त्यहीँ राखिएको थियो । म सबै कुरा सुनेर जबाफ दिन नसक्ने अवस्थामा पुगेकी थिएँ । उहाँहरूका कुरा कुनै अचेतन मनले पनि सुनिरहेको थियो ।
उहाँहरू भनिरहनुभएको थियो– “के गर्नु ? हाम्रो भदा परशुरामले कहीँ नभएको दुःख पाउने भयो । यो जानुका तर लाग्ला जस्तो छाँट छैन । यी भन्ट्याङभुन्टुङ स्याहार्न कसले छोरी दिन्छ ? यी बालक केटाकेटीहरू सबै टुहुरा हुने भए ।” यति के–के बोलेर मेरा आफन्तहरू बिदा हुनुभएछ । बिस्तारै म पनि अलिकति राम्रो भएँछु । आफ्ना ३ जना छोराछोरीलाई छेउमा बोलाएँ र त्यो सानो कान्छो भएकै ठाउँमा सजाएर राखेँ र कान्छोको अबोध अनुहार हेरेँ र भनेँ– “हे भगवान् ! म तपाईंलाई टुहुरो बनाएर कतै जाँदिनँ । सधैँ सेवामा बस्नेछु ।” भोजपुरकी देउरालीको ती नर्स बहिनीले भगवान् भनेको र मैले भगवान् भनेर पुकार गर्दै आफू निको भएको सम्झँदा अचम्म लाग्छ ।
भगवान् भन्नुपर्ने उदाहरण अर्को पनि छ । मलाई पनि तीर्थ, व्रत गर्न अति मन थियो । तर मेरो परिस्थितिले म मजाले बाँधिएकी थिएँ । धेरै जना मेरा आफन्त र परिवारको गोलोमा म रानी माहुरी जस्तो भएर शान्तसँग बसेकी थिएँ । म माहुरी थिइनँ, कुनै धार्मिक ब्राह्मणको छोरी थिएँ । त्यसकारण पनि बेलामौकामा म विद्रोह मच्चाइदिन्थेँ श्रीमान्को मनमस्तिष्कमा । भन्थेँ– “धेरै भयो, पशुपति, गुह्येश्वरी कतै नगएको । म बिरामी हुँला जस्तो भएकी छु । मलाई कतै घुमाउन लानुहोस् ।”
मेरो कुराले श्रीमान्ले पनि ठीकै हो भन्ने सोचेर मौका मिलाई दिउँसो २–३ बजेतिर मन्दिरमा कताकता धेरैतिर घुमेर गुह्येश्वरी भगवतीको मन्दिरमा दर्शन गर्न हामी पुग्यौँ । तीन जना छोराछोरीको हेरचाहमा श्रीमान्जी बाहिरै बस्नुभयो । म भने कुनै सहायकको साथमा पूजाको सामान बोकेर पूजा गर्न थालेँ । त्यो बेला पुजारीबाहेक अरू कोही मान्छे पनि थिएन । राम्रो पूजा सकेर शिरमा जल लिऊँ भनी हात हालेँ । मेरो हातमा २ वटा अण्डा र सुन्तलाको एउटा केस्रा आयो । मैले उसलाई तानेर हेर्दा पुजारीले देखेर गाली गरे– “त्यो यसरी लिनु हुन्न, माताको शरीरबाट । त्यो त्यहाँ राख्नुहोस् ।” मैले पनि पुजारीको कुरा मानेँ । मेरो भनौँ सहायक भाइले पनि मलाई नै गाली गर्नुभयो– “कस्ती लाटी मान्छे तपाईं ! त्यसरी आफ्नो हातमा आएको भगवतीको प्रसाद त्यहीँ राख्न हुँदैनथ्यो । त्यो प्रसाद त आफूले पो खाने हो ।” ती भाइको कुरा मलाई पनि ठीक लाग्यो र मैले पनि अलिक कडा स्वर बनाएर बोलेँ– “मेरा बूढा र छोराछोरी पर्खेर बाहिर बसेका छन् । प्रसाद ल्याउला र खाउँला भन्दै । खै, मैले अब के दिने ?”
मेरो कुरा सुनेर पुजारीलाई पनि उचितै लागेछ र अरू त्यहाँ चढाएको फलफूल दिए र म त्यहाँबाट बाहिर निस्किएँ ।
मेरा सहायकले मन्दिरभित्रको कुरा सबै श्रीमान्लाई सुनाइदिएँ । तर उहाँको मुखबाट कुनै अप्रिय शब्द प्रकट भएन । “आफ्नो जति छ भाइ त्यति मात्र पाइन्छ । बल गरेर मान्छेले लिन खोज्छ तर ऊ पाउन सक्दैन । पाएकोमा हामी सबैले चित्त बुझाउनुपर्छ ।” यस्ता कुरा गर्दै हामी आफ्नो डेरामा फर्कियौँ ।