• १५ वैशाख २०८१, शनिबार

चलचित्र समीक्षा

हरर कमेडी ‘भेडिया’

blog

काठमाडौँ, मङ्सिर १३ गते । चलचित्र ‘स्त्री’का निर्देशकले फेरि एक पटक हरर कमेडी विधामा नयाँ चलचित्र ‘भेडिया’ बनाउनुभएको छ । चलचित्रले दर्शक र समीक्षकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ ।

यस चलचित्रको अधिकांश छायाङ्कन अरुणाचल प्रदेशको जङ्गलमा गरिएको छ । यसले चलचित्रको सिनेमेटोग्राफी बेजेड देखिएको छ । चलचित्रका अधिकांश कलाकार पनि त्यहीँका छन् । चलचित्र धेरै हदसम्म प्रभावशाली बनाउने कोसिस गरिएको छ ।

चलचित्रमा वरुण धवन, कृति सेनन, दीपक डोबरियाल, सौरभ शुक्ला र अभिषेक बनर्जीको मुख्य भूमिका छ । चलचित्रको गीत र सङ्गीत राम्रा छन्; जुन अहिले निकै चर्चामा छन् । सङ्गीत सचिन जिगरको रहेको छ । 

चलचित्र दिनेश विजनले निर्माण र अमर कौशिकले निर्देशन गर्नुभएको हो । चलचित्रको छायाङ्कन जिष्णु भट्टाचार्यले गर्नुभएको हो भने कथा निरेन भट्टले लेख्नुभएको हो ।

वरुण धवन अर्थात् भाष्करलाई एक रात ब्वाँसोले टोक्छ । त्यसपछि भाष्कर हरेक रात ब्वाँसो बनी धेरैलाई आफ्नो सिकार बनाउँदै 

हिँड्नुहुन्छ । दिनको समयमा रातमा के के भएको थियो भन्ने कुरा उहाँ सबै बिर्सनुहुन्छ । एक दिन भाष्करले थाहा पाउनुहुन्छ– उहाँको शरीरभित्र एउटा ब्वाँसो छ, जसले उहाँलाई नियन्त्रणमा राखी धेरै डरलाग्दा कामहरू गर्न लगाउँछ । यो कुरा उहाँले उहाँले आफ्ना साथीहरूलाई सुनाउनुहुन्छ । कुरा सुन्नुको साटो साथीहरूले उहाँलाई डाक्टरकहाँ लैजान्छन् । डाक्टरले उहाँलाई निको पार्न सक्छन् या उहाँको उपचार अर्कै तवरले हुन्छ ? यो नै चलचित्रको मुख्य विषय हो । 

कथा नयाँ नभए पनि यसमा देखाइएको रहस्य र साहसिक कार्यलाई हास्यरस थपेर नयाँपनमा ढाल्नु नै चलचित्रको मुख्य विशेषता हो । वरुण धवनको अभिनयले चलचित्रलाई माथि उकास्ने काम गरेको छ । अन्य कलाकार कृति सेनन, दीपक डोबरियाल, सौरभ शुक्लाको अभिनय ठिकठाक छ । चलचित्र हरर जनराको जस्तो लागे पनि यसमा देखाइएको हास्य दृश्यले अवश्य दर्शकलाई मनोरञ्जन गराउँछ ।