• ४ जेठ २०८१, शुक्रबार

थपिँदै ८११ मेगावाट, स्वदेशी उत्पादन बढ्ने भएपछि विद्युत् आयात घट्ने

blog

काठमाडौँ, मङ्सिर ११ गते । चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् ।

विद्युत् विकास विभागमा पेस गरिएको व्यावसायिक उत्पादनको तालिकाअनुसार चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका हुन् । 

उत्पादन थालिसकेका यी १० र यसै वर्षभित्र उत्पादन सुरु गर्ने तयारी गरिरहेका ४७ गरी चालू आर्थिक वर्षमा ५७ वटा विद्युत् आयोजनाको ८११.८६ मेगावाट विद्युत् प्रणालीमा आबद्ध हुने देखिएको छ । यीमध्ये तीन सौर्य विद्युत् आयोजना हुन् भने बाँकी जलप्रवाही जलविद्युत् आयोजना छन् । मङ्सिर लागेसँगै २५ मेगावाटको  अप्पर दोर्दीले पनि परीक्षण उत्पादन सुरु गरेको छ । यसबाहेक बागलुङको कालङ्गा (१५ मेगावाट), पर्वतको मध्यमोदी (१८ मेगावाट) र सोलुखुम्बुको मध्य सोलुखोला (नौ मेगावाट)ले यही महिना परीक्षण उत्पादन गर्ने भएका छन् ।

देशभित्र खपत भएर धेरै भएको विद्युत् भारत निर्यात गरिरहेको प्राधिकरणले पुस लागेसँगै भारतबाट आयात गर्नुपर्ने हुन्छ । तर आयात गर्नुपर्ने यही समयमै देशभित्र बनिरहेका आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएपछि भारतबाट विद्युत् आयातको परिमाण घट्नेछ । 

प्राधिकरणका अनुसार मङ्सिर महिनामा मात्रै चार आयोजनाबाट ६७ मेगावाट विद्युत् थप हुँदै छ । यीमध्ये लमजुङमा रहेको २५ मेगावाटको अप्पर दोर्दी ए आयोजनाले परीक्षण उत्पादन थालिसकेको छ । पुसमा १० मेगावाटको मार्कीगाड, ४.७२ मेगावाटको अप्पर पिलुवा, ४.५५ मेगावाटको अपर माछाखोलाले व्यावसायिक उत्पादन थाल्ने तयारीमा छन् ।

माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट क्षमताका विद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गर्ने योजना विद्युत् विकास विभागमा पेस गरेका छन् । ८६ मेगावाटको सोलुखोला (दूधकोसी), ५४ मेगावाटको सुपरदोर्दी, ४४ मेगावाटको सुपरमादी, ३८ मेगावाटको अप्पर कलगागाडलगायतका नौ जलविद्युत् आयोजना पनि माघमै विद्युत् उत्पादन थाल्ने योजनामा छन् ।

फागुन महिनाभरमा नेपालमा विद्युत्को जडित क्षमता ८४.३ मेगावाट थप हुने छ । थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२, १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला, १८ मेगावाटको अप्पर सोलुखोलालगायत सातवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्दैछन् ।

यसअनुसार फागुनसम्म थपिने ५४३ क्षमताका विद्युत् आयोजनाका कारण नेपाल विद्युत् प्राधिकरणलाई भारतबाट कम मात्रै विद्युत् आयात गरे पुग्ने अवस्था आएको छ । यद्यपि सबै आयोजना जलप्रवाही भएकाले जडित क्षमताको करिब ४० प्रतिशत मात्रै विद्युत् उत्पादन हुनेछ । 

कुनै विशेष अवरोध नआए आगामी चैतदेखि असारसम्ममा २६८.६५ मेगावाट क्षमताका जलविद्युत् आयोजना सम्पन्न हुनेछन् । 

५० मेगावाटमाथिका चार आयोजना

चालू आर्थिक वर्षमा उत्पादन सुरु गर्ने आयोजनामा साना आयोजनाकै बाहुल्यता छ । १० मेगावाटभन्दा कम क्षमताका मात्रै ३१ विद्युत् आयोजना छन् । 

साहस ऊर्जाले निर्माण गरेको ८६ मेगावाट क्षमताको  सोलुखोला जलविद्युत् आयोजना (सोलुखुम्बु) सबैभन्दा ठूलो आयोजना हो । यसले माघमै विद्युत् उत्पादनको तयारी गरिरहेको छ । ५० मेगावाटभन्दा माथिका अन्य आयोजनामा ५४ मेगावाटको सुपरदोर्दी (लमजुङ) र ५१.४ मेगावाटको लिखुखोला (रामेछापर र सोलु) रहेका छन् । सुपरदोर्दी पिपुल्स हाइड्रोपावरले निर्माण गरिरहेको छ भने लिखुको प्रवद्र्धक कम्पनीमा पान हिमालय इनर्जी रहेको छ । 

आठ सौर्य आयोजनाबाट ३६.८ मेगावाट

यो वर्ष विद्युत् उत्पादन हुने ८११ मध्ये सौर्य ऊर्जाका आठवटा आयोजनाले ३६.८ मेगावाट उत्पादन गर्दैछन् ।  यीमध्ये नेसनल सोलर पावर कम्पनीले नवलपरासीमा पाँच मेगावाट, अपी पावरले सिमरामा एक मेगावाट र नेपाल सोलार फार्मले कास्कीमा चार मेगावाट उत्पादन थालिसकेका छन् ।

अब थपिने सौर्य आयोजनामा प्योर इनर्जी प्रालिले बाँकेमा बनाइरहेको १०–१० मेगावाट क्षमताका दुई आयोजना, ग्लोबल इनर्जीले दुहबीमा बनाइरहेको प्लान्टबाट आठ मेगावाट, जीआई सोलरले मोरङमा ६.८ मेगावाट र  सौर्य विद्युत् पावरले नवलपरासीमा दुई मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारीमा जुटेका छन् ।