याङ्गुन, भदौ ३० गते । हालै सम्पन्न ‘म्यान्मा सवारी तथा पार्ट्स प्रदर्शनी २०२५’ मा चिनियाँ विद्युत् सवारी साधनले विशेष ध्यान आकर्षित गरेका छन् । म्यान्माको सवारी साधन क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउनमा यिनको भूमिका महत्वपूर्ण देखिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा सहभागी भएका सबै ३५ सवारी ब्रान्ड चीनबाट आएका थिए, जसमा करिब ३० ब्रान्ड विद्युत् सवारी निर्माणमा केन्द्रित थिए । प्रदर्शनीको सह-आयोजक सिल्भर सी इन्टरनेशनल कम्पनी लिमिटेड का प्रबन्ध निर्देशक उ जर नि टिन म्यिन्ट ले भन्नुभयो,“आजको समयमा चीन सवारी साधन उद्योगमा अग्रणी बनेको छ । चिनियाँ ब्रान्डको गुणस्तर विश्वभर स्वीकार गरिएको तथ्य हो ।” यस प्रदर्शनीको अवसरमा ‘ऊर्जाको रूपान्तरणः विद्युतीय सवारीको भविष्य’ नामक ज्ञान आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
सरकारी प्रोत्साहनपछि विद्युत् सवारीप्रतिको रुचिमा उल्लेखनीय वृद्धि
सन् २०२३ यता म्यान्मा सरकारले विद्युत् सवारीसाधन आयातमा कर छुट, पुल तथा सडक महसुलमा छुटजस्ता सुविधा प्रदान गरेपछि, आम जनमानसको यसप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ । स्वान थु आङ कम्पनीका प्रमुख व्यापार अधिकृतको सित पैङले बताउनुभयो,“सुरुवातमा हामीसँग १०-१५ वटा मात्र विद्युत् सवारी थिए, अहिले हामीले करिब ३०० वटा वितरण गरिरहेका छौँ, जसमा ६०-७० वटा हाम्रो आफ्नै सञ्चालनमा छन् ।”
उहाँले थप्नुभयो, “विद्युत् सवारी चलाउन सजिलो, खर्चमा किफायती र चार्ज गर्न घर, सार्वजनिक स्थान वा सौर्य ऊर्जाको उपयोग गर्न सकिने भएकाले यसको प्रयोग सहज र व्यावहारिक बन्दै गएको छ ।” म्यान्मा सरकारले सार्वजनिक गरेको विद्युत् सवारी मार्गचित्र अनुसार, सन् २०२६-२७ देखि आधा तयार अवस्थामा आयात गरी देशमै जोडीने प्रक्रिया (स्थानीय संयोजन) प्रारम्भ हुनेछ, जसले देशभित्रै उत्पादन प्रवर्धनमा योगदान पुर्याउनेछ ।
चिनियाँ कम्पनीको उल्लेखनीय उपस्थिति
बाइडी, एमजी, लिप मोटर, डोङफेङ जस्ता चिनियाँ कम्पनीले म्यान्माको बढ्दो सवारी बजारमा सकारात्मक प्रभाव पारेका छन् । प्रदर्शनीमा बाइडी कम्पनीले आफ्ना सङ एल, हान, सिल, र इ-२ मोडेल प्रस्तुत गरेको थियो । प्राइम मोटर म्यान्माका बाइडी बिक्री प्रमुख क्याव जाव तुन का अनुसार,“बाइडीले प्रयोग गर्ने ‘ब्लेड ब्याट्री’ प्रविधि विश्वभर प्रसिद्ध छ । म्यान्मामा पनि यसका प्रयोगकर्ता दिनप्रतिदिन बढिरहेका छन् ।”
उहाँले भन्नुभयो,“अहिले सवारीको मूल्य अघिल्लो वर्षको तुलनामा घटेको छ, सेवा सुविधा पनि सहज बन्दै गएको छ । यस्ता पक्षले उपभोक्तालाई आकर्षित गरिरहेका छन् ।” बिएआईसी कम्पनीले पनि आफ्नो आर्कफक्स अल्फा एस ५ नामक उच्चस्तरीय विद्युत सवारी सो प्रदर्शनीमा देखाएको थियो । यस कम्पनीका बजार व्यवस्थापक को म्यात थु ले बताउनुभयो,“विद्युत् सवारीको माग बढ्नुमा सञ्चालन खर्च तथा मर्मत-सम्भार लागत कम हुनु पनि एक मुख्य कारण हो । सेवा केन्द्र र चार्ज गर्ने स्थान विस्तार हुँदै जाँदा यसको प्रयोग अझ बढ्नेछ भन्ने विश्वास छ ।”
चार्ज गर्ने संरचनामा पनि विस्तार
म्यान्मामा अहिले चार्ज गर्ने पूर्वाधार पनि तीव्ररूपमा विस्तार भइरहेका छन्, जसमा चिनियाँ प्रविधिले ठूलो भूमिका खेलेको छ । नेक्स चार्ज सोल्युसनका बजार व्यवस्थापकको ये आङका अनुसार, “हामीले हालसम्म पेट्रोल पम्प, घर तथा भवन निर्माण कम्पनीका लागि एक हजार भन्दा बढी चार्ज यन्त्र उपलब्ध गराएका छौँ, जसमा सबै उपकरण चीनमै निर्मित हुन् ।”
सर्वसाधारणमा बढ्दो आकर्षण
प्रदर्शनी अवलोकन गर्न आएका मायाङ्गोन नगरपालिकाका बासिन्दा हेइन ह्टेट ऊले भन्नुभयो, “हामी बाइडी र लिप मोटरको सवारी हेर्न आएका थियौं । हामीजस्ता उपभोक्ताका लागि राम्रो बिक्रीपछिको सेवा र वारेन्टी प्रणाली नै मुख्य कुरा हो ।” उहाँले थप्नुभयो, “हाल म्यान्मामा प्रयोग भइरहेका विद्युत् सवारीमध्ये सबैभन्दा बढी सङ्ख्यामा चिनियाँ सवारी छन् । यहाँसम्म कि केही जापानी कम्पनीका सवारी पनि चीनमै उत्पादन हुने गर्छन् । मूल्यअनुसार चिनियाँ सवारीले दिन सक्ने सुविधा सन्तोषजनक देखिएको छ ।”
विश्लेषकका अनुसार, यस प्रदर्शनीले स्पष्ट रूपमा चिनियाँ विद्युत सवारी साधनले म्यान्माको सवारी उद्योगलाई नयाँ दिशातर्फ लैजाँदै छन् । प्रतिस्पर्धात्मक मूल्य, बलियो सेवा सञ्जाल र प्रविधिमा आधारित प्रणालीका कारण चिनियाँ कम्पनीले यहाँको सवारी बजारमा महत्वपूर्ण स्थान बनाउँदै लगेका छन् । रासस/सिन्ह्वा