काठमाडौं, भदौ २९ गते । राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) का सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले पदबाट राजीनामा दिनुभएको छ।
उहाँले राष्ट्रपतिलाई सम्बोधन गरिएको पत्रमार्फत विद्यमान असामान्य राजनीतिक परिस्थितिमा आयोग प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै पद त्याग गर्नुभएको हो।
संविधानको धारा २४८ अनुसार नियुक्त भएका ढुङ्गेलले संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार मानव अधिकारको प्रवर्द्धन, संरक्षण र संस्थागत विकासका लागि निरन्तर प्रयत्न गरे पनि आयोगको संरचना र वर्तमान राजनीतिक अवस्थाले सीमित भूमिका मात्र निर्वाह गर्न सक्ने अवस्था देखिएको बताउनु भएको छ।
ढुङ्गेलले राजीनामा पत्रमा देशभर बढ्दो असहिष्णुता, मानव अधिकार हनन, हत्या, हिंसा तथा राजनीतिक अस्थिरताले मानव अधिकार आयोगलाई प्रभावकारी रूपमा अघि बढ्न कठिन बनाएको उल्लेख गर्नुभएको छ।
उहाँले आयोगका अध्यक्ष, अन्य सदस्य, सचिव, सम्पूर्ण कर्मचारी तथा सहकर्मीप्रति आभार व्यक्त गर्दै मानव अधिकार र लोकतन्त्रको पक्षमा आगामी दिनमा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ।