विजयकुमार साह
ढल्केबर, भदौ २९ गते। धनुषा प्रहरीले जेलबाट फरार भएका चार विदेशी नागरिकसहित १० जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँको केन्द्रीय कारागारबाट फरार भएका ती विदेशी नागरिकसहित जेनजीको आन्दोलनको आडमा आगजनी तथा लुटपाट गरेको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरहरि रेग्मीले केन्द्रीय कारागारबाट फरार भएका विदेशी नागरिकलाई भारततर्फ पस्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले नियन्त्रणमा लिएको बताउनुभयो।
उहाँका अनुसार पक्राउ परेकामध्ये नाइजेरियाका तीन र ब्राजिलको एक नागरिक रहेका छन्। धनुषाको खजुरी र महिनाथपुर नाकाबाट भारत पस्ने क्रममा पक्राउ परेका हुन। पक्राउ परेका विदेशी नागरिक लागुऔषध तथा कोकिन सम्बन्धी अभियोगमा कैद सजाय भोगिरहेका थिए। पक्राउ परेका विदेशीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, जेनजीको आन्दोलनको आडमा आगजनी तथा लुटपाटमा संलग्न रहेको आरोपमा छ जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले बताउनुभयो। ती व्यक्तिहरुसँग हतियार, कम्प्युटर, ल्यापटपलगायत चोरीका सामग्री पनि बरामद भएको उहाँले जानकारी दिनुभयो। प्रहरीको भनाइ छ।