• २९ भदौ २०८२, आइतबार

कैलालीमा एक सय ३७ भवनमा क्षति

blog

आगजनीपछि ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन।

अविनाश चौधरी

धनगढी, भदौ २९ गते। जेनजी आन्दोलनको क्रममा कैलालीमा एक सय ३७ भवनमा क्षति भएको छ। 

आन्दोलनकारीले आगजानी तथा तोडफोड गर्दा विभिन्न सरकारी कार्यालय, निजी भवन र पार्टी कार्यालयमा क्षति भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार तीन वटा पूर्ण र दुई आंशिक सहित पाँच वटा प्रहरी भवनमा क्षति भएको छ। यस्तै, आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ। 

दुई पूर्ण ७० आंशिक र ३१ सामान्य गरी १०३ वटा सरकारी कार्यालयमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। त्यस्तै, ११ आंशिक र छ सामान्य गरी १७ वटा पार्टी कार्यालयमा क्षति भएको जनाइएको छ। 

कुल पाँच वटा कार्यालयमा पूर्णसहित १३७ भवनमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो। 

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कर कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, भन्सार कार्यालय लगायतका सरकारी कार्यालयहरुमा आगजनी गरेका थिए। 

यसैगरी, प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतमा आगजनी गरिएको थियो। 

यस्तै, आन्दोलनकारीले ६७८ वटा सवारी साधन जलाएका छन्। जसमा चार पाङ्ग्रे ११४, मोटरसाइकल ५४३, साइकल १५ र तीन पाङ्ग्रे छ वटा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।