• २९ भदौ २०८२, आइतबार

पाकिस्तानमा बाढीबाट करिब २५ लाख मानिस विस्थापित

blog

पाकिस्तानमा बाढीबाट डुवानमा परेको गाउँ । तस्बिर : रोयटर्स

पञ्जाब, पाकिस्तान,भदौ  २९ गते । दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् । 

वर्षाका कारण आएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा प्रान्तभरी कम्तीमा १०१ जनाको ज्यान गएको पाकिस्तानी अङ्ग्रेजी समाचार दैनिक डनले जनाएको छ। शनिबार अपरान्ह्देखि नदीहरूमा पानीको सतह घट्न थालेको छ । 

अधिकारीहरूले मुल्तानको जलालपुर, पिरवाला र अलिपुर तहसिललाई वर्षा र डुबानका कारण अत्यधिक प्रभावित क्षेत्रका रूपमा घोषणा गरेका छन्। यद्यपि ती क्षेत्रहरूमा पनि वर्षाको प्रभाब रोकिने अनुमान गरिएको छ ।

डनले प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ, “बाढी, पहिरो र डुबानका कारण विस्थापित हुनेको सङ्ख्या हालसालैको स्मृतिमा सबैभन्दा ठूलो देखिएको छ। 

सरकारले व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गरेको छ, जसमा एक हजार ५०० भन्दा बढी उद्धार डुङ्गाहरू प्रयोग गरिएको छ ।

चेनाब, रावी र सतलज नदीको तल्लो इलाकाबाट १२ हजार ४२७ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

मुल्तान, मुजफ्फरगढ र रहिम यार खान जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् र हजारौँ मानिसहरूलाई उद्धार गरिएको छ।

केही सुधारका बाबजुद पनि मानवीय सङ्कट अझै गम्भीर रहेको बताइएको छ। करिब ४० हजार मानिसको बसोबास रहेको अलिपुर तहसिलको लाटी मारीको युनियन काउन्सिल पुरै डुबानमा परेको छ ।

स्थानीय बासिन्दा सैयद कौसर शाहले डनसँग भन्नुभयो, “बाढीका कारण घर र बाली नष्ट भएको छ र ‘मानिसहरूलाई बाहिर निकाल्न निजी डुङ्गा भाडा लिएर उद्धार भइरहेको छ।”

विस्थापितमध्ये अधिकांश अलिपुर शहरमा आफ्ना आफन्तहरूको घरमा बसिरहेका थिए, केही खुला आकाशमा नदी बिनारमा बाँधमा बसिरहेका छन् भने केहीलाई सरकारी राहत शिविरमा सारिएको छ । 

बाढीपछि भाग्न खोज्दा दुई जनाको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो। 

मुल्तान प्रहरीका सह आयुक्त वसीम हमिद सिन्धुले भन्नुभयो, “तीन दिनमा जलालपुर पिरवालाबाट एक लाख मानिसहरूलाई सुरक्षित स्थनमा लगिएको छ।”

बहावलपुरमा एक पत्रकार सम्मेलनमा पिडिएमएका महानिर्देशक इरफान अलि काथियाले भन्नुभयो, पन्जनाद हेडवर्कले ‘उच्च बाढी’ को अवस्थाको सामना गरिरहेको भएपनि यस हप्ताको सुरुमा सात लाख क्यूसेक पुगेको पानीको सतह शनिबार पाँच लाख ७५ हजार क्यूसेकमा झरेको छ।

उहाँले जलालपुर, पिरवाला र अलिपुर सहरलाई कुनै खतरा नरहेको र बहावलपुरमा पनि २४ घण्टाभित्र पानीको सतह घट्ने देखिएको बताउनुभयो । 

डनका अनुसार २८ जिल्लाका चार हजार ४४७ गाउ तथा वस्तीहरू डुबानमा परेका छन् । सामूहिक मानवीय विस्थापनको साथसाथै करिब २१ लाख ९० हजार गाईवस्तुहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । 

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले शनिबार साँझसम्म चेनाब, रावी र सतलज नदीमा पानीको बहाव स्थिर भएको जनाएको छ। रासस/एएफपी