• २९ भदौ २०८२, आइतबार

खनाल पत्नी चित्रकारको शल्यक्रिया गर्ने तयारी

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ २९ गते । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया हुने भएको छ ।  

 कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरेको जानकरी दिनुभयो । अस्पतालमा ल्याएको भन्दा उहाँको स्वास्थ्यमा केही सुधार आएको भए पनि खतरामुक्त हुन नसकेको डा.ताम्राकारको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “अस्पतालमा ल्याएको भन्दा उहाँको स्वास्थ्यमा केही सुधार आए पनि खतरामुक्त भने हुन सकेको छैन । आज दिनभर उहाँको स्वास्थ्य अवस्था हेरेर भोली शल्यक्रिया गर्ने योजना छ ।” हाल उहाँको अस्पतालको आइसियूमा उपचार भइरहेको छ । 

डा. ताम्राकारका अनुसार वर्न केसमा अस्पताल आएको चार पाँच दिनपछि मात्र समस्या देखिन्छ । उहाँ भन्नुहुन्छ, “वर्न केस अरू केस जस्तो हुँदैन । अस्पताल आएको चार पाँच दिनपछि मात्र गम्भिर समस्या देखिने हुँदा बिरामीकाे बारेमा केही भन्न सकिदैँन ।”  

  मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उहाँ जल्नुभएको थियो।  

आन्दोलनका क्रममा आगजनीमा घाइते भएर आठ जना वर्न अस्पतालमा भर्ना गरिएकोमा छ जना अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा आगजनीमा घाइते प्राय श्वासप्रश्वास सम्बन्धि समस्या रहेको उहाँको भनाइ छ ।