काठमाडौँ, भदौ ३० गते । गोरखापत्र संस्थानका योजना विभागका निमित्त निर्देशक भगिरथ बस्नेत उमेर हदका कारण संस्थान सेवाबाट विदाइ हुनुभएको छ ।
वि.सं. २०५१ असार ३० गते वरिष्ठ सहायक पदमा संस्थान सेवामा प्रवेश गर्नुभएका बस्नेतले ३१ वर्ष एक महिना २६ दिन सेवा गर्नुभएको छ । उमेर हद ५८ वर्ष पुगेकाले भदौ २६ गतेबाट बस्नेतले अनिवार्य अवकाश पाउनु भएको हो ।
संस्थानमा सोमबार आयोजित बिदाइ कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी उहाँलाई बिदाइ गर्नुभयो । बिदाइ कार्यक्रममा बोल्ने वक्ताहरूले बस्नेत इमानदार, सज्जन र कम बोलेर नतिजा निकाल्न सक्ने खुबी भएको भन्दै बस्नेतको योगदानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रबन्ध सम्पादक रमेश लम्साल, प्रशासन विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठ, मुद्रण विभाग प्रमुख ओमप्रकाश भुसाल, अर्थ विभाग प्रमुख राजुकुमार महतलगायत सहभागी हुनुहुन्थ्यो । सहभागीहरूले बस्नेतको भावी जीवन सुखमय रहोस भनी कामना गर्नुभयो ।
आफ्नो आवश्यकता अनुसार संस्थानमा सेवा गरेको र तलब बुझेपछि मिहिनेत गरेर काम गर्नुपर्छ भन्ने भावनाका साथ काम गरेको बताउँदै योजना विभागमा निमित्त निर्देशक बस्नेतले गोरखापत्रको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।