काठमाडौँ, भदौ ३० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न अपिल गर्नुभएको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न निर्देशन दिनुभएको हो ।
महासचिव पोखरेलले असोज ३ गते संविधान दिवस मनाउन पनि सबैलाई निर्देशन दिनुभएको छ ।
महासचिव पोखरेलले भन्नुभयो, “लामो सङ्घर्षबाट २०७२ सालमा प्राप्त भएको संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौं । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुने छ । काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा हुने छ ।”
उहाँले सधैं सडकबाट निर्णय नहुने भएकोले सडकबाट प्राप्त गरेका उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले यो सरकार अन्तरिम भएकोले यसको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउने विषयमा ध्यान जानेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बिचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौं ।”